तनहु (म्याग्दे) २३ चैत्र/ म्याग्दे गाउँपालिकाले १ हजार ५ सय घरपरिवारलाई राहत वितरण गर्ने भएको छ ।गाउँपालिकाले संगठीत क्षेत्रमा कार्यरत श्रमीक तथा असाहायहरुलाई उपलब्ध गराउने राहत सम्बन्धी मापदण्ड–२०७६ बनाई गाउँपालिका भित्र राहत वितरण कार्यलाई अगाडी बढाएको हो । म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाका अनुसार कोभिड–१९ को संक्रमण, रोकथामका लागि सरकारले गरेको लकडाउनबाट दैनिक ज्याला, मजदुरी गरी जिविकोपार्जन गर्ने विपन्न परिवारको तथ्याङ्क संकलन गरी राहत वितरण कार्यलाई अगाडि बढाएको छ । गाउँपालिकाका ७ वटै वडा कार्यालय मार्फत राहत वितरण गर्ने कार्य अगाडी बढेको बताउदै प्रमुख प्रशासकीय अधिकृत नागिलाले भने, “राहत वितरण दैनिक रूपमा कार्य गरी जिविकोपार्जन गर्नेका लागि प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।” यहि चैत्र २२ गते देखि वितरण गरिएकाे राहत कार्यक्रम अन्तर्गत २२ गते ४१० परिवार र २३ गते ४८२ परिवार गरि ८९२ परिवारलाई राहत वितरण भईसकेकाे र अन्य राहत वितरणकाे कार्य २५ चैत्रमा सक्नेगरि काम गरिरहेका छाै प्रमुख प्रशासकीय अधिकृत नागिलाले जानकारि दिए । म्याग्दे गाउँपालिकाका ७ वटै वडामा १ हजार ५ सय २३ परिवारका सदस्यले राहत पाउने छन् ।गाउँपालिकाले तयार गरेको मापदण्ड अनुसार २ जना सम्मको परिवारले १० किलो जीरा मसिना चामल, १ किलो रातो दाल, १ लिटर तेल, १ किलो नुन पाउने छन् भने ३ देखि ४ जनाको परिवारले भने १५ किलो जीरा मसिना चामल, १ किलो रातो दाल, १ लिटर तेल, १ किलो नुन पाउने छन् । त्यस्तै, ५ सदस्य भन्दा माथि भएका परिवारका सदस्यहरुले २५ किलो जीरा मसिना चामल, २ किलो रातो दाल, १ लिटर तेल, १ किलो नुन प्राप्त गर्ने म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताईन् । लकडाउनको समयमा दैनिक काम गर्दै जिविकोपार्जन गरेका परिवारहरु खानबाट बञ्चित नहुन् भनेर राहत वितरण कार्यलाई अगाडी बढाएका हौँ–अध्यक्ष रानाले भनिन् । गाउँपालिकाको वडा नं. १ मा २ सय ९७ जना, वडा नं. २ मा २६७ जना, वडा नं. ३ मा १७१ जना, वडा नं. ४ मा १८५ जना, वडा नं. ५ मा १८४ जना, वडा नं. ६ मा १७७ जना र वडा नं. ७ मा २४४ जनालाई राहत वितरण गरिने गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । सो तथ्याङ्क ८२ वटा टोल विकास संस्थामार्फत वडा कार्यालय हुँदै गाउँपालिकामा प्राप्त भएको विवरण हो । गाउँपालिकाले आफु खुसी राहत वितरण नगर्न र चन्दा नउठाउन आग्रह गरेपछि एकद्वार प्रणाली वाट वडा कार्यालय मार्फत राहत वितरण गर्दै आएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए । त्यस्तै, वडा नं. १, ३ र ४ ले राहत वितरण गरिसकेका छन् भने अन्य वडाले एक, दुई दिन भित्र राहत वितरण गर्ने गरि अावश्यक तयारि गरेका छन् प्रवक्ता शिवशरण वाग्लेले बताए । गाउँपालिकाले विपत व्यवस्थापन कोषमा २५ लाख वजेट विनियोजन गरेको छ । कोभिड–१९ बाट वच्न नेपाल सरकारले घोषणा गरेको लकडाउनबाट उत्पन्न हुने खाद्य सामाग्रीको आपुर्ति व्यवस्थापनमा देखिएको समस्यालाई व्यवस्थित गर्न गाउँपालिका अध्यक्ष मायादेवी रानाको संयोजकत्वमा ७ सदस्य समिति गठन गरेको छ । त्यस्तै,गाउँपालिकाले कोभिड–१९ को बारेमा जानकारी दिन, रोकथाम तथा संक्रमणबाट बच्नका लागि स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरे र जामुने स्वास्थ चाैकि प्रमुख दिनेश पन्डितले हेल्पडेस्क मार्फत जानकारी दिदै आएका छन् ।
FACEBOOK COMMENTS