काठमाण्डौं– सरकारले ‘योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली–२०७५’ जारी गरेको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ लाई कार्यान्वयन गर्न, श्रमिकको सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाउन नियमावली जारी गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ऐनको दफा–६९ ले दिएको अधिकार प्रयोग गरी पेश गरेको नियमावली आइतबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । मन्त्रिपरिषदको स्वीकृतीसँगै नियमावली लागू भएको र यसले मुख्य रूपमा सरकारी कोषबाट पारिश्रमिक लिने व्यक्ति, अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्याक्ति समेतको सामाजिक सुरक्षा योजनामा सहभागी हुने व्यवस्था गरेको मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीले बताए ।
“नियमावलीमा योगदानकर्ताले सामाजिक सुरक्षा योजना बमोजिमको सुविधा प्राप्त गर्न सक्नेछन्,” सहसचिव रेग्मीले भने “रोजगारदाता, श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्ति कोषमा सूचीकरण हुनेछन् भने तोकिएको खास अवस्थामा रोजगारदाता सूचीकरणबाट हटेको अवस्थामा पनि योगदानकर्तालाई भुक्तानी गर्नु पर्ने दायित्वबाट उम्कन नपाउने व्यवस्था गरिएको छ ।”
यसका साथै ऐनमा तोकिए बाहेक सामाजिक सुरक्षा कोष सञ्चालन समितिका थप काम, कर्तव्य र अधिकारको व्यवस्था, कोषको अन्तरिक नियन्त्रण प्रणाली, बिमांकीय मूल्यांकन प्रतिवेदनमा खुलाउनु पर्ने विषय, योगदानकर्तालाई सूचना प्रविधिमा आधारित प्रणालीमा आबद्ध गर्नेजस्ता नवीन व्यवस्था नियमावलीमा गरिएको मन्त्रालयले जनाएको छ । नियमावलीको कार्यान्वयनबाट अब श्रमिकको सामाजिक सुरक्षाको हक कार्यान्वयन गर्न सहयोग मिल्ने छ ।– कारोबार दैनिक
FACEBOOK COMMENTS