काठमाडौं, १९ भाद्र-मच्छिन्द्र नाथको रथ यात्राको बिषय हाल चर्चाको शिखरमा छ । प्रशासनको स्विकृति वेगर किन रथ यात्रा गर्न खोजियो ? भन्ने सवाल पनि अहिले पेचिलो रुपमा उठेको छ । अनिकालका देवताका रुपमा पुजिदै आईएका मच्छिन्द्र नाथको रथ यात्रा गर्न स्थानिय प्रशासनले रोक लगाएपछि ललितपुरका स्थानिय युवाहरुले विविध सवाल उठाए । तिनै मध्येको एक प्रश्न हो भाटभटेनी खुल्दा रथ यात्रा किन खुल्न सकेन ? भन्ने प्रश्न ।
धार्मिक बिषय आस्थासँग जोडिने बिषय हो । मच्छिन्द्रनाथको रथ यात्रा पनि धर्म, परम्परा र संस्कृतिसँग जोडिएको सन्दर्भ हो । यसर्थ यस जात्रा पनि जनजीवनसँग प्रत्यक्ष रुपमा सरोकारित छ । अर्थात समुदायले अपनत्व बोध गरेको बिषयमा सामुहिक चासो हुनु स्वभाविक रहन्छ । जब समुदायले आफ्नो आस्था माथि प्रहार भएको महशुश गर्छ तब भडकावमा आउन कुनै बेर लाग्दैन । तिनै मध्येको एक घटना हो गत भाद्र १८ गते पुल्चोकमा भएको नागरिक र प्रहरी बीचको तनाब । झडप ।
कुनै पनि घटना घटनुको पछाडी केही न केही कारण अवश्य हुन्छ ।पाटनबासी युवाहरु आन्दोलित हुनुको पछाडी पनि त्यस्तै कारणहरु अवश्य छन्। जब आक्रोश पैदा हुन्छ तब त्यो पोखिनलाई बेर नै लाग्दैन । कहिले काही आक्रोशको बिस्फोटनले ठुलै क्षती पनि निम्त्याउन सक्छ। सतहमा पुल्चोक घटना तत्काललाई साम्य भएको देखिन्छ । घटना पस्चात प्रशासनले लगाएको कर्फयुको प्रभाव तत्काललाई देखिएको छ । तर समुदायमा फैलिएको आक्रोशको ज्वाला त्यसै मथ्थर भएर जान्छ भनेर ठोकुवा गर्ने वा ढुक्क साथ बस्ने स्थिती छैन । कारण स्थानियहरु हाल घर भित्रै छन्।तर मच्छिन्द्र नाथको रथलाई यथावत अवस्थामा राख्दै गर्दा पुन: समस्या बल्झन सक्ने स्थिती पनि ज्युका त्यु छ । यस तर्फ जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, गुठी संस्थान र ललितपुर महानगरपालिकाले ध्यान पुर्याउन आवश्यक छ ।
जनआस्थाको सम्मान
मानिसको वैचारिक जग निर्माणमा समाज र संस्कृतिको महत्वपूर्ण भूमिका रहन्छ । मच्छिन्द्रनाथको रथ यात्रा प्रत्येक बर्ष निकाल्नै पर्छ भन्ने मान्यता आम रुपमा गढेको छ । जसको उपज युवाहरु स्थानिय प्रशासनले जारी गरेको आदेश मान्न तयार भएनन् । अनि शुरु भयो सांस्कृतिक विद्रोह ।कोभिड १९ ले मानिसहरु त्रासमा छन, शायद ती आन्दोलनकारीहरुलाई पनि आफ्नो र परिवारको पक्कै माया होला । तर जब संस्कार र संस्कृतिको सवाल उठछ तब रैथाने समुदाय एकजुट हुनु कुनै नौलो घटना होईन । कोरोना कहर माझ पाटनबासीले प्रदर्शन गरेको सांस्कृति प्रतीको प्रेमलाई संस्कृति जोगाउ अभियानको एक हिस्सा नै हो भन्न करै लाग्छ । चाहे गुठी बिधायकको विरोध होस् वा मठ मन्दिर संरक्षणको सवाल नेवार समुदायले अदभुत एकता प्रदर्शन गर्दै आएको छ ।
वास्तवमा हुल हुज्जत गर्नु मनाशिव कुरा हुँदै होईन । अझ कोरोना अर्थात कोभिड १९ फैलिरहेको परिप्रेक्ष्यमा निसेधाज्ञा तोडेर घर बाहिर हुलमुलमा मिसिन आउनु पनि जायज मान्न सकिन्न । राज्यले जनताकै जिउ ज्यानको सुरक्षार्थ ल्याएको नियमको उल्लंघन गर्नु जघन्य नै हो । तर पनि हामीले यसो भनिरहँदा इश्वरिय आस्था र सांस्कृतिक महत्वलाई पूर्ण रुपमा उपेक्षा गर्नु उत्तिकै घातक बन्न सक्छ भन्ने उदाहरण भाद्र १८ गते पुल्चोकमा घटेको घटनाले देखाएको छ । जसको व्यवस्थापन गर्न स्थानिय सरकार र प्रशासन चुकेको देखिन्छ । मुख्यत रथ बनाउन दिएर गुडाउन भने नदिनुको परिणाम हो यो । यसमा सांस्कृतिक, परम्परागत मुल्य मान्यता, आस्था जस्तो मानविय संवेदना जोडिएको छ । राज्यले जन आस्थालाई नजर अन्दाज गर्दाको परिणाम यो स्थिती सहजै अनुमान लगाउन सकिन्छ ।
स्थानिय सरकार अर्थात ललितपुर महानगरपालिकाको लापर्वाही पनि यसको एक कारण हो । स्थानिय सरकारले स्थानिय स्तरमा प्रचलनमा रहेका पर्वको महत्व, जनभावना वा स्थानियको आवाज साथै समुदायमा पर्न सक्ने असर आदीलाई नजर अन्दाज गर्नु पनि त्रूटीपूर्ण कदम हो । किनकी पहुँचका हिसाबले पनि जात्राको महत्वलाई सम्बन्धित निकायमा लबी गर्ने दायित्व महानगर कै थियो । तर महानगरपालिकाले रथ बनाउन सघाएर पनि जात्रा गर्न पहल नलिएकाले जन आक्रोश झन बढन पुगेको देखिन्छ ।
रथलाई अलपत्र पारेर राख्नु पक्कै पनि शोभनिय मान्न सकिदैन । नगरबासीको माग पनि त्यही नै थियो । मच्छिन्द्रनाथको रथलाई वेबारिसे अवस्थामा छोडन मिल्दैन र पुल्चोकबाट रथ अघि बढाउनु पर्छ भन्ने मत समुदायमा रहयो भने प्रशासनलाई निशेधाज्ञा तोडिने डरसँगै कसरी संक्रमण फैलिन नदिने भन्ने चिन्ता पनि रहेको पाईयो । यस मानेमा समुदाय र प्रशासनले आ आफनो अडान कायम राख्दै कर्तब्य पुरा गर्ने ध्याउन्नमा लाग्दा झडपको स्थिती बन्यो ।
यता बिहीबार दिउँसो भएको झडपपछि असामान्य बन्दै गएको स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको छ । अब २१ गते देखि रथ नजिकै चोक सम्म तान्ने र ललितपुरको स्थानीयले मिलेर पुजाआजा गर्ने कुरा आएको छ । भाद्र २२ गते मंगलबार ज्योतिषले साइत हेर्ने र साइत जुरेपछी थप कदम चालिने भन्ने कुरा आएको छ । यस बिषयमा प्रशासनले फेरि पनि हस्तक्षेप गर्यो वा धेरै संख्यामा मानिसहरुको उपस्थिती रहन पुग्यो भने उसै गरि घटना नदोहोरिएला भन्न सकिन्न । यस तर्फ पनि सम्बन्धित व्यक्ती बिशेष र तालुकात निकायले ध्यान पुर्याउन जरुरी छ ।
भाटभटेनीलाई भिडभाड गर्न छुट
कम लागतमा संचालित साना पसलहरु प्राय बन्द रहेका बेलामा ठुलो लगानी मा खुलेको भाटभटेनी सुपर मार्केट भने खुलेको भेटिएको छ । हाल काठमाडौं सहित उपत्यका स्थित बाँकी दुई जिल्लाहरु ललितपुर र भक्तपुरमा निसेधाज्ञा जारी छ । स्थानिय प्रशासन ऐनमा टेकेर तीन वटै जिल्लाका प्रशासनले निसेधाज्ञा जारी गर्दै खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रीका पसलहरु बिहान एघार बजेसम्म खोल्न दिने नियम लागु गरेको छ । संघिय सरकारले पनि लामो समय देखी २५ जना भन्दा बढि मानिसहरु एकै ठाउँमा भेला हुन नपाउने नियम लागु गरेको छ । यद्यपी नेकपाका महासचिव बिष्णु पौडेलसँगै वालुवाटार जग्गा प्रकरणमा मुछिएका मिन बहादुर गुरुङको लगानी रहेको भाटभटेनी सुपर मार्केट भने निर्वाध रुपमा चलेको छ । ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्प रत्न शाक्यले पनि ठुलो लगानीकर्तालाई आँखा चिम्लेर छुट दिईएको प्रती आफुहरुले विरोध जनाउदै आएको बताए । ‘ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई भनेर अस्ती देखी सेल्स वेजलाई बन्द गराएका छौ’ शाक्यले भने ।
यता सरकारले मच्छिन्द्र नाथको रथ यात्रा रोकेता पनि मास ग्यादरिङ्ग अर्थात भिडभाड हुने भाटभटेनीलाई भने हस्तक्षेप गर्न सकेको छैन ।अन्य सुपर मार्केटहरु बन्द भए पनि भाटभटेनी सुपरमार्केट भने खुल्दै आएको छ । सेल्स बेजले पनि खाद्यान्न बिक्री गर्ने गर्दछ । तर भाटभटेनीले खाद्यान्न मात्र नभई लत्ता कपडा, भाडाकुडा, खेलौना लगायत अन्य थुप्रै सामाग्रीहरु बिक्री गर्छ । भाटभटेनी सुपरमार्केटमा कर्मचारी संख्या नै अधिक रहन्छ । लकडाउनका बेला भाटभटेनी खुला हुँदा स्थानिय मानिसहरुको भिड निकै लामो भएकाले स्थानिय वडा कार्यालयले हस्तक्षेप नै गर्नु परेको अवस्था थियो । काठमाडौं उपत्यकामा हाल निसेधाज्ञा लागु गरिएको अवस्थामा अन्य मलहरु बन्द गर्न वाध्य भए पनि धेरै मानिसहरु उपस्थित हुने भाटभटेनी भने अझै खुला छ । यस घटनाले सानालाई ऐन ठुलालाई चैन भन्ने कुरालाई पुस्टि गरेको छ ।
FACEBOOK COMMENTS