२०३५ सालमा चितवनको भरतपुरमा जन्मिएका रमन महतो ‘रमन कन्स्ट्रक्शन प्रालि’का प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।
चितवनस्थित अमर एभरेष्ट बोर्डिङ स्कुलबाट निम्न माध्यमिक तहको शिक्षा हासिल गरेका उनले माध्यमिक तहको शिक्षा बुटवलस्थित लुम्बिनी बोर्डिङ स्कुलबाट लिए ।
क्याम्पेन एकेडेमी ललितपुरबाट कक्षा ११ र १२ उत्तीर्ण गरेका महतो थप उच्च शिक्षाका लागि १९ वर्षको उमेरमा अमेरिका गए । साउथ अमेरिकन युनिभर्सिटीबाट क्यापिटल इन्जिनीयररिङमा स्नातक र स्नातकोत्तर गरेका उनले फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीबाट एमबीएको अध्ययन पूरा गरेका छन् ।
अमेरिकामा अध्ययन सँगसँगै उनले इन्जिनीयरिङ फर्म खडा गरेर मेकानिकल इन्जिनीयरिङको रूपमा प्रडक्टहरू डिजाइनको काम गरे । उनले गरेका कतिपय मेकानिकल डिजाइनहरू अहिले पनि विश्वबजारमा विक्री भइरहेका छन् । रोबोटिक्स इन्जिनीयरिङदेखि प्रडक्ट डेभलपमेन्टमा उनले धेरै कामहरू गरेका छन् । साथै कञ्जुमर प्रडक्टहरू पनि उनले डिजाइन गरेका छन् ।
सन् २०१२ मा अमेरिकाबाट फर्किएपछि उनले आफ्नो बुबाले सञ्चालन गर्दै आएको रमन कन्स्ट्रक्शनमा काम शुरू गरे । त्यसपछि फाट्ट–फुट्ट अमेरिका जाँदै–आउँदै गरेका उनी निरन्तर रूपमा नेपालको कन्स्ट्रक्शन उद्योगमा क्रियाशील रहँदै आएका छन् ।
रमन जन्मिएको केही वर्षपछि उनका बुबाले शुरू गरेको कन्स्ट्रक्शन व्यवसाय उनै रमनको नामबाट नामाकरण गरिएको हो । कन्स्ट्रक्शनको क्षेत्रमा ‘रमन कन्स्ट्रक्शन’ अहिले एउटा ठूलो ब्राण्डको रूपमा स्थापित भइसकेको छ ।
अमेरिकाबाट फर्किंदा आफ्नै बुबाले गर्दै आएको व्यवसाय अपनाउने सोच उनमा थिएन । तर, आफ्नै कम्पनीमा कामहरू गर्दै जाँदा क्रमिक रूपमा यो क्षेत्रमा क्रियाशील भएको उनी बताउँछन् । खासगरी पारिवारिक वातावरणका कारण यो व्यवसायमा आवद्ध भएपछि यो क्षेत्रलाई राम्रो बनाउनुपर्छ भन्ने सोचको विकास भएअनुरूप आज उनी यो क्षेत्रमा टिकिरहेका छन् ।
रमन कन्स्ट्रक्सनले अहिलेसम्म साना–ठूला धेरै प्रोजेक्टहरू सम्पन्न गरिसकेको छ ।
८०० किलोमिटरभन्दा बढी सडकमार्ग निर्माण, सबैभन्दा लामो जनकपुर–जयनगर रेलमार्ग निर्माण (पुनर्निर्मित), ठूला खानेपानी आयोजना, भेरी–बबई सिंचाई आयोजना, विभिन्न हाइड्रो प्रोजेक्ट निर्माण, विमानस्थलमा रन–वे निर्माण, ढल निकास र अन्य थुप्रै योजनाहरूको निर्माणमा संलग्न रहँदै आएको रमन कन्ट्रक्सनले अहिले ऐतिहासिक महत्व बोकेको तथा सर्वाधिक चर्चामा रहेको धरहरा निर्माणको काम गरिरहेको छ ।
तीव्र रूपमा काम भइरहेको उक्त योजनाको निर्माण अन्तिम चरणमा पुगेको र धरहराको काम सम्पन्न भईसकेको छ भने अरुकाम पनि पुरागरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।
सबै पक्षको सकारात्मक बुझाई, सहयोग तथा सहकार्य भएको खण्डमा नेपाली कन्ट्र्याक्टरहरू जुनसुकै प्रकृतिको काम गर्न सक्षम र स्रोतसाधनसम्पन्न रहेको उनको भनाइ छ । नेपालमा कन्ट्र्याक्टपछि कतिपय साइट क्लियर नहुने, नक्साहरू समयमै प्राप्त नहुने, राजनीतिक पार्टी तथा स्थानीयहरूको अनेक स्वार्थहरूका कारण निर्माण कार्यहरू ढिलो हुने गरेको बताउने महतो कुनै पनि आयोजनाको काम ढिला हुनुमा केवल कन्ट्र्याक्टरहरूको मात्रै दोष नभएको दाबी गर्छन् ।
कुनै पनि कन्ट्र्याक्टरहरूले आफ्नै फाइदाका लागि मात्रै भए पनि आयोजनाहरू निर्माणमा ढिलाई गर्न चाहँदैनन् । तर, ‘पेपर वर्क’ र ‘फिल्ड वर्क’मा निक्कै भिन्नता हुने हुँदा त्यसले पनि केही प्रभाव पार्ने उनी बताउँछन् ।
कम्पनीमा संलग्न सबैको मेहनत, लगनशीता र इमानदारिताका कारण रमन कन्स्ट्रक्शनले मुलुकको अब्बल कम्पनीको रूपमा पहिचान बनाउन सफल भएको छ । त्यसो त हरेक फिल्डमा कार्यकारी निर्देशक महतो आफैं खट्ने गरेका छन् । आफैं फिल्डमा पुगेर काम गर्दा काम गर्नेलाई हौसला तथा आत्मविश्वास प्राप्त हुनाका साथै काममा गुणस्तर झल्किने विश्वास उनी राख्छन् ।
नेपालका कन्स्ट्रक्शन कम्पनीहरू विश्वव्यापी रूपमै प्रतिस्पर्धा गर्न सक्षम रहेकाले सरकारले अर्बौं रूपैयाँ लगानी गरेका नेपाली कम्पनीलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ । कतिपय कन्ट्र्याक्टहरू सहजै रूपमा विदेशी कम्पनीलाई दिइने गरिएकोप्रति दुःख व्यक्त गर्दै उनले कन्ट्र्याक्ट निकाल्दा नेपाली कम्पनीलाई प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गर्छन् ।
कुनै पनि देशको ‘ब्याकबोन’ भनेकै पूर्वाधार विकास भएको भन्दै कन्स्ट्रक्शनको क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्ने उनी बताउँछन् । कन्स्ट्रक्शन कम्पनीहरू धेरै भएकै कारण चीनले आफ्नो देशमा सम्पूर्ण पूर्वाधार निर्माण गर्न सकेको तथा अहिले विदेशमा समेत चिनियाँ कन्ट्र्याक्टरहरूको उपस्थिति बाक्लो भइसकेको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि कन्स्ट्रक्शन कम्पनीलाई राज्यले प्राथमिकतामा राखेर काम गर्ने उपयुक्त वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
अझ नेपालीले कर तिरेको पैसाबाट हुने निर्माणको काममा नेपालीहरूकै पहिलो अधिकार हुनुपर्ने मान्यता उनी राख्छन् ।
FACEBOOK COMMENTS