रसुवा – विश्वव्यापी फैलिएको कोरोना भाइरस ९कोभिड–१९० कारण होटल तथा पर्यटन व्यवसाय पूर्ण रूपमा ठप्प भएको छ । अन्य व्यवसाय जसोतसो चलिरहेको भएपनि होटल तथा पर्यटन व्यवसाय गएको चैत महिनादेखि नै बन्द छ ।
यस जिल्लामा पुसको पहिलो हप्तादेखि नै पर्यटक आउने क्रम घट्दै गएको थियो । गएको चैत ११ गतेदेखि सरकारले देश लकडाउन गरेको घोषणा गरेपछि जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक आउन बन्द भयो । होटल तथा पर्यटन व्यवसाय बन्द भएपछि यहाँका होटल तथा पर्यटन व्यवसायीलाई मासिक ६ करोड ७८ लाख घाटा भएको होटल तथा पर्यटन व्यवसायी संघ रसुवाले गरेको सर्वेक्षणले देखाएको छ ।
तथ्यांक अनुसार लाङटाङ क्षेत्रमा ५० वटा, स्याफ्रुबेंसीमा २५, टिमुरेमा १०, तामाङ सम्पदा मार्गमा ७०, गोसाइँकुण्ड पदमार्गमा २१, धुन्चेमा २०, कालिकास्थानमा ९, ठूलोस्याफ्रुमा ३० र सय वटा रेष्टुरेन्ट गरी जिल्लामा ३ सय ३५ वटा होटल तथा रेष्टुरेन्ट सञ्चालनमा छन् ।
लाङटाङ क्षेत्रका होटललाई प्रतिमहिना १ करोड २५ लाख, स्याफ्रुबेंसीका होटललाई ६२ लाख ५० हजार, टिमुरेका होटललाई ३० लाख, तामाङ सम्पदा मार्गका होटललाई १ करोड ४० लाख, गोसाइँकुण्ड पदमार्गका होटललाई ५२ लाख ५० हजार, धुन्चे रहेका होटललाई ५० लाख, कालिकास्थानमा रहेका होटललाई १८ लाख, ठूलोस्याफ्रुका होटललाई ७५ लाख र अन्य रेष्टुरेन्टलाई १ करोड २५ लाख रुपयाँ घाटा भएको देखिएको छ ।
संघका महासचिव निशान गजुरेलले व्यवसाय बन्द हुँदा कर्मचारी तथा सञ्चालक समेत गरी ८ सय १० जना बिरोजगार भएका बताए । जिल्लामा सञ्चालनमा रहेका होटलहरूले कर्मचारीलाई प्रतिमहिना १ करोड २१ लाख ५० हजार रुपयाँ दिँदै आएको देखिएको छ । जिल्लाका होटलले औसतमा १५ हजार रुपयाँ दिने र केही होटलमा सञ्चालक आफैं खटिने भएकाले यसमा सञ्चालकको विवरण समेत समेटिएको संघले जनाएको छ ।
FACEBOOK COMMENTS