काठमाडौं, माघ ७ –थाइल्यान्डमा एक पूर्व कर्मचारीले राजाको अपमान गरेको स्वीकार गरेपछि ४३ वर्षको कारावास सजाय दिइएको छ।
मंगलवार बैंकक फौजदारी अदालतले आनचान नाम गरेकी ती महिलालाई राजसी कानूनको उल्लंघनको गरेकोमा सजाय दिएको हो ।उनले फेसबूक र यूट्युबमा राजतन्त्रको विरोध गर्दै गरिएको टिप्पणीका अडियो क्लिप शेयर गरेकी थिइन् ।संविधानको धारा ११२ ले थाई जनतालाई राजाको आलोचना गर्न प्रतिबन्ध लगाएको छ । यसको प्रत्येक काउन्टमा १५ वर्षको कारावास सजायको व्यवस्था छ ।
ती महिलाको उमेर ६० भन्दा बढी छ र उनलाई ४३ वर्ष ६ महिनाको सजाय दिइएको हो । खासमा उनले ८७ वर्षको सजाय पाएकी थिइन् तर अपराध स्वीकार गरेपछि सजाय आधा घटाइएको हो ।उनीमाथि विगत ६ वर्षदेखि मुद्दा चलिरहेको थियो ।
सन् २०१४ मा शाही थाई सेनाका कमान्डर प्रयुतले सैन्य कू गरेपछि राजतन्त्रविरोधी आवाज सुनिन थालेको थियो उनलाई सन् २०१५ को जनवरी महिनादेखि सन् २०१८ को नोभेम्बर महिनासम्म कारागारमा राखिएको थियो ।आनचानले ४० वर्षसम्म सरकारी कर्मचारीका रूपमा काम गरेकी थिइन् । सेवानिवृत्त हुनुभन्दा एक वर्षअघि उनी पक्राउ परेकी थिइन् । उनी कसूरदार ठहरिएकाले पेन्सनबाट वञ्चित हुने भएकी छन् ।
FACEBOOK COMMENTS