काठमाडौं,फागुन २५ – कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पशुपति शमशेर राणा तथा डा प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच एकता हुने भएको छ ।
लामो समययता दुई पार्टीबीच एकता हुने चर्चा चलिरहेकोमा शनिबार एकताका लागि आधारपत्रमा हस्ताक्षर भएको हो। राजधानीको लाजिम्पाटमा थापा, राणा र लोहनीसहित शीर्ष नेताहरुको छलफलमा सहमति जुटी एकतासम्बन्धी १० बुँदे आधारपत्रमा हस्ताक्षर भएको हो ।
एकताको घोषणासभा फागुन २८ गते अर्थात आउँदो बुधबार हुनेछ । एकीकृत पार्टीमा राप्रपा संयुक्तका अध्यक्षहरु राणा र लोहनी तथा राप्रपाका अध्यक्ष थापा अध्यक्ष रहने र एकीकृत पार्टीको महाधिवेशन डेढ वर्षभित्र गर्ने सहमति भएको छ ।
नयाँ दलको झण्डा अहिले राप्रपाको झण्डा प्रयोग गरिने तर चुनाव चिह्न भने पछि तय गर्ने सहमति भएको छ । केन्द्रीय समितिमा मनोनयन, सचिवालय निर्माण, जिम्मेवारी बाँडफाँडलगायत दैनिक कार्य सञ्चालन तीनजना अध्यक्षहरुको सहमतिमा गर्ने सहमति भएको छ ।
एकीकृत पार्टीको विधान दुबै पार्टीको विधानलाई समेटेर एकीकृत बनाइने छ । तर, पार्टीको मुख्य नीति र सिद्धान्त भने धर्म सापेक्ष हिन्दु राष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असलग्न नीति हुने छ ।
FACEBOOK COMMENTS