काठमाडौं, जेठ १५ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो ३१औँ पार्टी स्थापना दिवस भर्चुअल माध्यमबाट मनाएको छ ।
शनिबार पार्टी अध्यक्ष कमल थापाले सञ्चालन गरेको कार्यक्रम पार्टीका संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्दले आफ्नो भक्तपुर, लोकन्थलीस्थित निवासमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए । नेता चन्दले राप्रपालाई बलियो राष्ट्रवादी शक्ति बनाउन सबैले मिहिनेत गर्नुपर्ने र अहिले मुलुकलाई वैकल्पिक शक्तिको आवश्यकता रहेको विचार ब्यक्त गरे ।
पार्टी अध्यक्ष पशुपतिशमशेर राणाले कोरोना महामारी नियन्त्रणको लागि राज्यको सम्पूर्ण ध्यानकेन्द्रित हुनुपर्नेमा जोड दिए । राजासहितको प्रजातन्त्र र सनातन हिन्दुराष्ट्रलाई स्थापित गर्न जनताकेन्द्रित हुँदै संगठन निर्माणमा जुट्न नेता–कार्यकर्तालाई राणाको आग्रह थियो ।
अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको बाटोबाट नभई राप्रपाले अवलम्बन गरेको मार्गचित्रबाट मात्र नेपालले स्वाभिमान कायम राख्दै समृद्धिको यात्रा तय गर्न सक्ने जिकिर गरे ।अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले विगतका कमी–कमजोरी, सफलता असफलताको समिक्षा गर्दै पार्टीलाई गन्तव्यतर्फ अगाडि बढाउनुपर्ने बताए । कांग्रेस, कम्युनिस्टको असफलता र अकर्मण्यताले मुलुक समस्याको दलदलमा भासिएको उनको भनाइ थियो ।
FACEBOOK COMMENTS