होटल व्यवसायी, घोडा सञ्चालक र स्थानीय उत्साहित
श्रावण १५ — लकडाउन खुलेपछि कर्णालीको पर्यटकीय गन्तव्य रारा तालमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । झन्डै ४ महिना सुनसान बनेको रारामा आन्तरिक पर्यटक जान थालेपछि चहलपहल बढेको हो ।
एक सातायता मुगुसहित आसपासका जिल्लाका कर्मचारी, विद्यार्थी र व्यापारी रारा घुम्न आउन थालेका छन् । रारा ताल आसपासका मुर्मा, झ्यारी, कार्कीबाडा, पिना, भामबाडा, बालै, रुमलगायत गाउँमा पनि पर्यटकको चहलपहल बढ्दै गएको स्थानीय शिक्षिका चेतना शाहीले बताइन् । उनका अनुसार वर्षायाममा रारा क्षेत्र निकै मनमोहक देखिन्छ । ताल वरिपरि फुल्ने विभिन्न फूल र चारैतिरको हरियालीले पनि राराको सौन्दर्य बढाएको उनको भनाइ छ ।
लकडाउन खुलेसँगै रारा पुगेर डुंगा सयर गरेको चित्तैगाउँका सोनामछिरिङ तामाङले बताए । ‘लामो समयको उकुसमुकुसलाई राराले भुलाइदियो,’ उनले भने, ‘वरिपरिको वातावरणले पनि रारालाई थप मनमोहक बनाएको छ ।’ रारामा चहलपहल बढ्न थालेपछि होटल व्यवसायी, घोडा सञ्चालक, डुंगा व्यवसायी र स्थानीय उत्साहित छन् । आसपासका जिल्लाबाट आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको रारा राष्ट्रिय निकुञ्जका अधिकृत विष्णुप्रसाद थपलियाले बताए । साउनदेखि कात्तिकसम्मको समय रारा घुम्न सबैभन्दा उपयुक्त मानिन्छ । ‘वर्षाका कारण सडक यातायात बन्द भए पनि यो मौसममा जहाजबाट सजिलै रारा पुग्न सकिन्छ,’ उनले भने, ‘वरिपरिको हरियालीका कारण पनि रारा घुम्ने यो उपयुक्त मौसम हो ।’
कोरोना महामारीका कारण पर्यटक नआएपछि रारा क्षेत्रका होटल व्यवसायी, डुंगा सञ्चालक र पर्यटन व्यवसायी फुर्सदिला थिए । लामो समयसम्म पर्यटक नआउँदा सबैभन्दा बढी घोडा व्यवसायी संकटमा परेको मुर्मागाउँका गोर्ख रोकायले गुनासो गरे । ‘लकडाउन खुल्यो, अब चहलपहल बढ्ने अपेक्षा छ,’ उनले भने, ‘पर्यटक बढेपछि स्थानीय उत्पादनले पनि बजार पाउनेछ ।’ मुर्मा, झ्यारी, पिना, कोटिला, माथितुमलगायत गाउँका झन्डै २ सय परिवारले पर्यटक घुमाउन घोडा पालेका छन् ।
-कान्तिपुर दैनिक
FACEBOOK COMMENTS