काठमाण्डौँ —सरकारले भारतको सरकारी कम्पनी कोङ्कण रेलवेज् कर्पोरेशन लिमिटेडमार्फत दुई सेट डिजेल इलेक्ट्रिक मल्टिपल युनिट ट्रेन रु ८४ करोड ६५ लाख ९५ हजार ६०० मा खरीद गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाका अनुसार मन्त्रिपरिषद् बैठकले जलस्रोतको उपयोग, व्यवस्थापन र नियमनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ ।
बैठकले एकल विन्दु सेवा केन्द्र स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा सूचना प्रकाशन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई स्वीकृति दिएको छ ।
त्यसैगरी सोलु करिडोर १३२ किलोभोल्ट प्रसारणलाइनका लागि थप वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको मन्त्री बाँस्कोटाले बताए ।
मन्त्री बाँस्कोटाले गोरखा दरबार हेरचाह कार्यालय तथा सङ्ग्रहालय, गोरखा, नुवाकोट दरबार हेरचाह कार्यालय तथा सङ्ग्रहालय, नुवाकोट, मनकामना क्षेत्र विकास समिति र हलेसी महादेवस्थान विकास समितिलाई सङ्घअन्तर्गत राख्ने निर्णय भएको बताए ।
त्यसैगरी पाल्पा दरबार सङ्ग्रहालयलाई प्रदेश नं ५ अन्तर्गत र शहीद स्मारक प्रकृति प्रतिष्ठान, थानकोटलाई प्रदेश नं ३ अन्तर्गत राखेर व्यवस्थापन गर्ने निर्णय गरिएको जानकारी उनले दिए ।
बनेपास्थित सूचना प्रविधि पार्कको जग्गा तथा भवन सुरक्षण मुद्रण विकास समितिलाई उपलब्ध गराउने निर्णय हुनाका साथै चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराईलाई मनोनयन गरिएको मन्त्री बाँस्कोटाले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS