काठमाडौँ, पुस २ – रौतहटको मौलापुर नगरपालिकाले आन्तरिक स्रोतबाट व्यहोर्ने गरी २४ शिक्षकलाई नियुक्ति दिएको छ। नगरपालिकामा सञ्चालित विद्यालयमा शिक्षकको अभाव रहेकोले बालबालिकाको पढाइ प्रभावित हुन नदिन नगरपालिकाले आफ्नै स्रोतमा शिक्षक नियुक्त गरेको हो।
नगरपालिकामा १३ विद्यालयमा ७ हजार ६३ विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीको अनुपातमा शिक्षकको संख्या अत्यन्त न्यून छ।
नगरपालिका सबै तहको गरी ७८ शिक्षकको दरबन्दी रहेकोमा चार वटा दरबन्दी रिक्त रहेका छन्। कार्यरत एक शिक्षकमा विद्यार्थीको अनुपात ९५ जनाभन्दा बढी भएको नगरपालिकाले बताएको छ।
यस्तो अवस्थामा पनि केन्द्र र जिल्लासित शिक्षकको माग गर्दा पठाउन नसकेकोले नगरपालिकाले आफ्नो स्रोतबाट शिक्षक भर्ना गर्नुपरेको शिक्षा संयोजक चन्देश्वर साहले बताए।
नगरपालिकाले प्राथमिक तहमा नेपाली माध्यमतर्फ ५ र अंग्रेजी माध्यमतर्फ गरी १० जना, निम्न माध्यमिक तहका १२ र माध्यमिक तहका २ गरी २४ शिक्षकलाई करारमा नियुक्त गरेको हो। नगरपालिकाद्वारा नियुक्त नयाँ शिक्षकमध्ये आठ जना महिला छन्।
नगरपालिकाले प्राथमिक तहको नेपाली माध्यमका शिक्षकलाई १८ हजार, अंग्रेजी माध्यमका शिक्षकलाई १९ हजार, निम्न माध्यमिक तहका शिक्षकलाई २० हजार तथा माध्यमिक तहको शिक्षकलाई २२ हजार रूपैया मासिक तलब दिने निर्णय गरेको छ।
शिक्षकको अभावमा पठनपाठनमा देखिएको समस्या समाधानमा सहयोग पुग्ने विश्वास लिइएको मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साहले बताइन्। नगरपालिकाका बालबालिकालाई शिक्षामा पहुँच पुर्याउन र शिक्षाको गुणस्तरमा वृद्धि गर्न पनि नयाँ शिक्षकबाट सहयोग पुग्ने मेयर साहको भनाइ छ।
FACEBOOK COMMENTS