काठमाडौँ, श्रावण ३२ – गृहमन्त्री रामबहादुर थापाले लकडाउनले कोरोनाको रोकथाम तथा समस्या समाधान नहुने बताएका छन् । फेरि लकडाउन गरेर समस्याको हल हुँदैन । त्यही भएर हामीले सबै क्षेत्रलाई क्रमश: मापदण्ड बनाएर खोल्न दिने नीति लिएका हौं, थापाले भने ।
उनले लकडाउनका कारण आर्थिक समस्याहरु देखिन थालेपछि सरकारले कोरोना र आर्थिक संकटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको पनि बताए ।
थापाले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालन गर्न सर्वसाधारणलाई अपील पनि गरेका छन् । सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना अपनाउन आवश्यक रहेको उनले बताए । गृहमन्त्री थापाले सरकार र नागरिकले एकसाथ सचेत भई नियमहरु पालना गरेमा संक्रमणलाई नियन्त्रण गर्न सकिने बताए ।
उनले स्वास्थ्यका मापदण्डहरु अपनाएर उद्योग व्यवसायहरु पनि सञ्चालन गर्नुपर्ने बताए । अरु सुरक्षाका मापदण्ड अपनाएर बन्दाबन्दीलाई पनि निरन्तरता दिनुपर्नेछ । यी दुईवटै कुराहरुलाई हामीले अगाडि बढाइराखेका छौं, उनले भने ।
सरकारले देशभित्र प्रवेश गर्ने १० वटा नाका तोकेको तर अझै पनि लुकिछिपी आउने काम भइराखेको भन्दै उनले त्यसको नियन्त्रणका लागि गृह मन्त्रालयले अधिकतम प्रयास गरेको बताए । अहिले पनि खुला नाकाहरु नियन्त्रणका लागि १ हजार २ सयभन्दा बढी बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गरिएको उनले बताए । उनले अहिले देशमा बाढी पहिरो र कोरोनाको संकट एकैपटक आएकाले यसको समाधानमा जटिलता पैदा भएको पनि बताए ।
यस वर्ष मनसुन सुरु हुनुभन्दा अगाडि नै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेर पूर्व तयारी गरेकोसमेत थापाले बताए । विपदको समस्या गृह मन्त्रालयको मात्रै नभएर अन्य केही सरोकारवालाहरुको पनि समस्या भएकाले ती निकायहरुबीच तालमेल हुन नसक्दा उद्धार तथा राहत कार्यमा केही जटिलता आएको उनले दावी गरे । पूर्वतयारी हामीले हरेक वर्ष गरिराखेका छौं त्यही पनि त्यो पर्याप्त छैन, केही समस्याहरु छन् । विशेष गरेर पूर्वतयारीमा आवश्यक साधन र सामग्रीहरुको समस्या छ । हेभी इक्युपमेन्टहरु जो उद्धारको निम्ति आवस्यक हुन्छ त्यसको हामीलाई समस्या छ। कतिपय समस्याहरु तालमेलका पनि छन्, उनले भने ।
FACEBOOK COMMENTS