काठमाडौं, चैत २४ – काठमाडौं शहर लगातार दोस्रो दिन विश्वकै सर्वाधिक प्रदूषित शहर बनेको छ । सोमबार बिहानदेखि काठमाडौं पटक पटक प्रदूषित शहरको शीर्ष स्थानमा रहँदै आएको छ। मंगलबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २८४ पुगेको छ । सोमबार बिहान ९ बजे प्रदूषण बढेर ३३१ एक्यूआई रहेको थियो।मौसममा आएको खरावीका कारण पनि अहिले पनि काठमाडौं सर्वाधिक प्रदूषित हुन पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
चैत १० गतेपछि निरन्तर रुपमा नेपालमा डढेलो लागेका कारण पनि प्रदूषण थप बढ्दै गइरहेको छ। आइतबार मात्रै नेपालमा ७ सय भन्दा बढी जंगलमा डढेलो लागेको थियो। हावा प्रदूषित भएसँगै स्वासप्रश्वासका बिरामीसमेत बढेको चिकित्सकहरु बताउँछन्। काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन्।
वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न र निस्कनपरे एन–९५ मास्क प्रयोग गर्न समेत अनुरोध गरे। उनले वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले बाहिर ननिस्कन अनुरोध गरे।
वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन्। नेपालमा वर्षेनी वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ। विश्वमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ।
FACEBOOK COMMENTS