काठमाडौं, २१ चैत – ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ ।
शनिबारको खेलमा उसले ललितपुर मेयर ११ माथि ७ विकेटको जित हात पारेको हो ।
ललितपुरले दिएको १०८ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो ।
सुदूरपश्चिमका लागि मञ्जु बोगटीले सर्वाधिक ४१ रनको योगदान दिइन् । १५.४ ओभरमा रन आउट हुनुअघि उनले ४२ बलमा ६ चौका प्रहार गरिन् ।
२२ रनमा अविजित रहेकी डली भट्टले १४ बलमा २ चौका र १ छक्का प्रहार गरिन् । रेवती धामीले १८ र कविता जोशीले अविजित १० रनको योगदान दिइन् ।
ललितपुरका सुमन खतिवडा र आरती बिडारीले १–१ विकेट लिँदा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०७ रनको योगफल तयार पारेको थियो ।
लालितपुरका लागि कञ्चन श्रेष्ठले अर्धशतकीय पारी खेलिन् । ६३ रनमा अविजित रहेकी उनले ५६ बलमा ८ चौका प्रहार गरिन् ।
सुमन खतिवडा र अस्मिना कर्माचार्यले १३ रनको योगदान दिए ।
सुदूरपश्चिमका ऋतु कनोजिया, सम्झना खड्का र कविता कुवँरले १–१ विकेट लिँदा २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
FACEBOOK COMMENTS