काठमाडौं, २८ फागुन – लायन्स क्लबको झन्डा सगरमाथाको चुचुरोमा फहराइने भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि सगरमाथा आरोही ल्हाक्पा गेल्बु शेर्पालाई नेपाल लायन्स क्लबकी ए टु ३ सय २५ कि गभर्नर शर्मिला मल्लले तीनवटा लोगो अङ्कित झन्डा हस्तान्तरण गरेकी थिइन् ।
जसमा अन्तर्राष्ट्रिय लायन्स क्लबको लोगो, नेपालमा लायन्स क्लबको ५० बर्ष पुगेको गोल्डेन जुब्लीको लोगो र लायन्स क्लब अफ नेपाल सेल्फडिफेन्स एसोसिएसनको लोगो अङ्कित रहेको झन्डा १६ पटक सफल रूपमा सगरमाथा आरोहण गरेका शेर्पाले १७ पटक सगरमाथा आरोहणका दौरान लायन्सका क्लबका लोगो अङ्कित झन्डा सगरमाथामा फहराउनेछन् ।
शेर्पालाई लायन्स क्लबकी डिस्ट्रिक गभर्नर मल्लले ५० हजार रुपैयाँको चेकसमेत हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा सहभागीहरुले सगरमाथा आरोही शेर्पालाई सगरमाथा आरोहणका लागि शुभकामना दिएका थिए ।
विश्वकै सबैभन्दा ठूलो सामाजिक सेवा गर्ने संस्थाको झन्डा विश्वकै अग्लो चुचुरोमा फहराउने जिम्मेवारी पाउँदा खुसी लागेको आरोही शेर्पाले बताए । यसै वर्ष मे महिनाको १२ देखि २० तारिखमा मौसम हेरेर सगरमाथा आरोहण गर्ने शेर्पाले बाह्रखरीलाई जानकारी दिए ।
FACEBOOK COMMENTS