काठमाडौं, भदौ २१ – प्रहरीले काठमाडौंको कपनमा सुन किन्न बोलाएर लुटपाट गर्ने समूहका पाँच जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ सुन किन्न बोलाएर साथमा बोकेको पैसाको झोला खोसेर भाग्ने समूहका योजनाकारसहित पाँच जनालाई अपराध महाशाखा र प्रहरी वृत बौद्धको सयुक्त टोलिले हिजो पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय विष्णु थापा, जुगलका २७ वर्षीय मेखबहादुर तामाङ, २८ वर्षीय रुवेन लामा गोले, २३ वर्षीय आकाश स्याङ्वो र सर्लाही हरिवन घर भइ कपन बस्ने विशाल लामा छन् । कपनस्थित आनीगुम्बा नजिकै ‘सुन किन्न’ गएका उदयपुर चौदण्डीका निराहाङ राई लुटिएका हुन् । लुटेरा समूहले उनको साथमा रहेको १३ लाख ५० हजार लुटेका थिए ।
सस्तोमा सुन बेच्ने लोभमा पारेर लुट्ने समूहका मुख्य योजनाकार रुवेन लामासँग ३७ वर्षीय निराहाङले सुन किनबेचको योजना मिलाएका थिए । सानो टुक्रा सक्कली सुन देखाएर विश्वासमा पारेपछि रुवेनले पैसा लिएर गुम्बानजिक बोलाएका थिए ।
गुम्बानजिक पुग्नासाथ रुवेनको समूहका चारजनाले निराहाङको साथमा रहेको झोला खोसेर भागेको थियो । लुटेको पैसाले सो समूहका मेखबहादुरले पल्सर मोटरसाइकल किनेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
सो समूहले चोरी गरेर लुकाई राखेको ८ लाख ७५ हजार नगद र मोटसाइकल बरामद गरिएको महानगरीय अपराध महाशाखा प्रमुख दीपक थापाले जानकारी दिनुभएको छ । लुटपाटमा संलग्न मध्ये सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३२ वर्षीय सुजन बिक भने फरार छन् । प्रहरीले फरार बिकको खोजी गरिरहेको जनाएको छ
FACEBOOK COMMENTS