काठमाडौं, असोज ८ – बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितको आज मृत्यु भएको छ। मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलवस्तुका पुरुष रहेका छन्।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाका अनुसार कोरोना संक्रमण भई अस्पतालमा उपचारका लागि भर्ना भएका नवलपरासी रामग्रामका नगरपालिका ३ का ३९ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो।
कोरोना अस्पतालमा उपचारका लागि भर्ना भएका ती पुरुषलाई लामो समयदेखि कलेजोको समस्या रहेको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई असोज २ गते भेन्टिलेटरमा उपचार गर्ने क्रममा मृत्यु भएको डा. थापाले जानकारी दिए।
यस्तै कोरोना संक्रमण भइ उपचारका लागि अस्पतालमा भर्ना भएका कपिलवस्तु बुद्धभूमि ६ का ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको डा थापाले जानकारी दिए। लामो समयदेखि मधुमेह र मिर्गौलाको समस्या भई उपचार गराइरहेका मृतकलाई संक्रमण पुष्टि भएपछि असोज १ मा कोरोना अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनमा स्वास्थ्यमा थप समस्या देखिएपछि असोज २ गते भेन्टिलेटरमा राखिएकामा आज बिहान मृत्यु भएको डा. थापाले बताए। रासस
FACEBOOK COMMENTS