![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं– सरकारले वायु सेवा कम्पनीहरुको चुक्ता पूँजी बढाएको छ।
वायु सेवा कम्पनीलाई तीन वर्गमा वर्गीकरण गरी ५० करोड रुपैयाँदेखि १ अर्ब रुपैयाँसम्म चुक्ता पूँजी तोकिएको हो।
वायुयानको विमान उड्ने बेलाको तौललाई आधार मानेर कम्पनीलार्इ तीन वर्गमा वर्गीकरण गरिएको छ।
अहिले गरिएको नयाँ वर्गीकरणअनुसार १२५ टनभन्दा ठूला विमानलाई ‘क’ वर्ग, ४० देखि १२५ टनका विमानलाई ‘ख’ वर्ग र ४० टनभन्दा साना तौल भएका विमानलाई ‘ग’ वर्गमा वर्गीकरण गरिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार ‘क’ वर्गको विमान कम्पनीको लाइसेन्स लिन एक अर्ब, ‘ख’ वर्गका लागि ७५ करोड र ‘ग’ वर्षका लागि ५० करोड रुपैयाँ चुक्ता पूँजी हुनुपर्ने बताएको छ ।
पर्यटन मन्त्रालयको सिफारिसअनुसार गत विहीबार बसेको मन्त्रिपरिषदको आर्थिक तथा पूर्वधार समितिले नागरिक उड्डयनसँग सम्बन्धित संस्थालाई इजाजत दिने सम्बन्धी कार्यविधि संशोधनको निर्णय गरेको हो।
संशोधित कार्यविधिअनुसार एउटा विमान कम्पनीसँग अब तीनवटा विमान हुनुपर्ने व्यवस्था गरिएको छ। यदि कुनै विमान कम्पनीले नयाँ विमान थप गरेमा प्रत्येक विमानका लागि १० करोड रुपैयाँ दरले चुक्ता पूँजी थप गर्दै जानुपर्ने व्यवस्था पनि गरिएको छ। यसैगरी विमान कम्पनीले लाइसेन्स लिँदा राख्नु पर्ने नगद धरौटी ५० लाख रुपैयाँबाट बढाएर ७५ लाख बनाइएको छ। यो रकम वायुसेवा सञ्चालनमा आएको ६ महिना पछि कम्पनीले आवश्यक कागजात पुर्याए फिर्ता हुनेछ ।
कार्यविधिमा भएको संशोधनअनुसार पाँच वर्षदेखि आन्तरिक उडान गरिरहेका वायुसेवा कम्पनीका लागि अन्तर्राष्ट्रिय उडानको लाइसेन्स लिन चाहे त्यसका लागि पनि एक पटक खुला प्रतिस्पर्धा गरिनेछ।
FACEBOOK COMMENTS