काठमाडौं, जेठ ७ – प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानमाथि श्रृखंलाबद्ध रूपमा प्रहार भएको जिकिर गर्दै विवेकशील साझा पार्टीले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
पार्टी प्रवक्ता शरदराज पाठकले शुक्रबार जारी गरेको विज्ञप्तिमा संविधानको रक्षा गर्ने दायित्व बोकेको राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसंवैधानिक काम गरेको भन्दै तत्काल महाभियोग लगाएर उनलाई पदमुक्त गर्नुपर्नेमा जोड दिइएको छ ।
संसद्मा प्रधानमन्त्री ओलीको विपक्षमा रहेका दल तथा सांसदहरू एक जुट भई नयाँ सरकार गठनका लागि पहल गर्न विवेकशील पनि साझा पार्टीले आह्वान गरेको छ ।
‘संविधानतः प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नु पर्नेमा त्यस विपरीत हिजो बिहीबार साँझ नयाँ प्रधानमन्त्री नियुक्तिका लागि अघि बढाइएको प्रक्रियाबाट संविधानको ठाडो उल्लङ्घन भएको छ। प्रधानमन्त्री ओलीको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदाझैँ रबर स्ट्याम्प सरह सदर गर्नु पुरापूर असंवैधानिक कदम हो’, सो पार्टीको विज्ञप्तिमा भनिएको छ ।
वैकल्पिक सरकार गठनका लागि लगभग २० घण्टाको मात्र समय दिइनु ओलीलाई नै फेरी प्रधानमन्त्री बनाएर संसद् विघटन गरी मध्यावधि चुनावको बहानामा मुलुकलाई अस्थिरतातर्फ होम्ने पुरानै षडयन्त्रको निरन्तरता भएको विवेकशील पार्टीको ठहर छ ।
FACEBOOK COMMENTS