काठमाडौं-विश्वप्रसिद्ध मुटुरोग विशेषज्ञ प्राध्यापक डा. मलखलाल श्रेष्ठ ‘अनरेरी ओभरसिज फेलोसिप’बाट सम्मानित भएका छन् । उनलाई इन्डियन एशोसिएसन अफ कार्डोभास्कुलर–थोरासिस सर्जन्सले सो सम्मान प्रदान गरेको हो । सो सम्मान प्राप्त गर्ने श्रेष्ठ पहिलो नेपाली हुन् । उक्त सम्मान प्रसिद्धि कमाएका विदेशी शल्यचिकित्सकहरुलाई मात्र प्रदान गर्ने गरिन्छ ।
करिब १२–१३ वर्षअघि भारतको नयाँ दिल्लीस्थित एस्कोर्ट अस्पताल र चेन्नइमा पहिलो पटक एओर्टिक सर्जरी (मुटुको महाधमनीको शल्यक्रिया) शुरु गराएका श्रेष्ठले सो सम्बन्धी तालिम समेत प्रदान गरेका थिए । उक्त कार्यको उच्च प्रशंसा डा. श्रेष्ठलाई सो सम्मान प्रदान गरिएको हो ।
को हुन डा. श्रेष्ठ ?
मलखलाल श्रेष्ठको जन्म व्यापारिक एवम् राजनीतिक पृष्ठभुमी बोकेको परिवारमा भएको हो । उनको थातथलो काठमाडौं स्थित ठहिटी हो । प्राडा श्रेष्ठ जर्मनीको हानोभर मेडिकल स्कुलमा कार्डियाक, थोरासिस, ट्रान्सप्लान्टेसन एण्ड भास्कुलर सर्जरी विभागका उपाध्यक्ष, प्राध्यापक तथा ‘डाइरेक्टर अफ एओर्टिक सर्जरी’का रुपमा कार्यरत छन् । डा. श्रेष्ठ वर्षेनी पटक पटक जन्मभूमि नेपाल आई मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटुरोगीहरुको निशुल्क रुपमै जटील शल्यक्रिया गर्दै आएका पनि छन् । उनले पुर्याएको सो योगदानको कदर गर्दै सेन्टरले उनलाई भिजिटिङ प्रोफेसर (अवैतनिक) को दर्जा प्रदान गरेको छ ।
डा. श्रेष्ठले यसअघि गंगालाल हृदयरोग प्रतिष्ठानमा पनि कैयन मुटुरोगीहरुको जटील शल्यक्रिया निःशुल्क गरिसकेका छन् । त्यसबाहेक उनी वर्षेनी भारतमा समेत गई जटील किसिमका मुटुका शल्यक्रियाहरु निःशुल्क नै गरिदिने गर्छन् । कोभिड कहर माझ जर्मनीबाट नेपाल आएका बेला उनले प्रधानमन्त्री के पि शर्मा ओली लगायतका उच्च तहका नेताको मुटु चेकजाँच गर्नुका साथै केही सर्वसाधरणको निशुल्क सल्यकृया समेत गरेका थिए ।
FACEBOOK COMMENTS