काठमाडौं, बैशाख १० – संयुक्त राष्ट्रसंघले विश्वमा बढ्दै गएका विभिन्न महामारीका कारण भोकमरीको जोखिम बढ्ने औंल्याएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वभर भोकमरीको उच्च जोखिम बढ्ने देखिएको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको हो ।
सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण विश्वमा गरिबी र खाद्यान्नको अभावको सामना गर्नुपर्ने जनसङ्ख्या अहिलेकोभन्दा झण्डै दोब्बर पुग्नसक्ने प्रक्षेपण गरिएको छ ।
विश्वभर भोकमरीका कारण समस्यामा पर्नेको संख्या १३ करोड ५० लाखबाट बढेर २५ करोड भन्दा बढी पुग्ने आँकलन गरिएको छ । डब्लुएफपीका अनुसार भोकमरीका कारण सबैभन्दा बढी प्रभावित हुने १० देश छन्, जुन देशमा द्वन्द्व, आर्थिक संकट र जलवायु परिवर्तनको प्रभाव अधिक परेको छ ।
लोबल रिपोर्ट अन फुड क्राइसिसको चौथो वार्षिक प्रतिवेदनमा यमन, प्रजातान्त्रिक गणतन्त्र कंगो, अफगानिस्तान, भेनेजुएला, इथियोपिया, दक्षिण सुडान, सुडान, सिरिया, नाइजेरिया र हाइटीलाई भोकमरीको सबैभन्दा उच्च जोखिममा रहेका देशको सूचिमा राखिएको छ ।
उक्त प्रतिवेदनमा सन् २०१९ मा विश्वका ५५ मुलुकका १३ करोड ५० लाख व्यक्तिचरम खाद्यान्न संकटको अवस्थामा रहेका कारण खाद्यान्न सहयोगको आवश्यक रहेको थियो ।
प्रतिवेदन तयार गर्ने क्रममा चार वर्ष पहिलेको भन्दा सन् २०१९ मा खाद्यान्न सङ्कटको सामना गर्ने मानिसहरूको सङ्ख्या दुई करोड बढेको थियो । जुन यसअघिको तुलनामा निकै बढी हो ।
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का प्रमुख डेविड बिज्लेइले भोकमरीका कारण उत्पन्न हुने गम्भीर दुर्घटना वा विनाशबाट जोगिनका लागि तत्काल उपयुक्त प्रयासको खाँचो रहेको बताएका छन् ।
द्वन्द्व, आर्थिक सङ्कट र खडेरीजस्ता मौसमसम्बन्धी घटनाहरूको कारण खाद्यान्न सङ्कटमा वृद्धि आएको हो । प्रतिवेदनमा थप १८ करोड ३० लाख जनसङ्ख्या खाद्यान्न संकटको समस्यानजिक रहेको देखिएको छ ।
FACEBOOK COMMENTS