काठमाण्डौँ — गैरआवासीय नेपालीको पहिलो विश्व विज्ञ सम्मेलन सुरु भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा राजधानीमा शुक्रबार विज्ञ सम्मेलन सुरु भएको हो ।
सम्मेलनमा कृषि उत्पादन र ऊर्जामा निर्भरता, सुरक्षित खाद्य पदार्थ, वातारणीय प्रदूषण न्यूनीकरण, व्यवस्थित सहरको विकास, पूर्वाधार विकास, जलविद्युत्, व्यावसायिक शिक्षा, स्वास्थ्य शिक्षालगायत विषयमा विज्ञहरूले छलफल गर्नेछन् ।
सम्मेलनमा १ सय ६० भन्दा बढी कार्यपत्र प्रस्तुत हुनेछन् ।
छलफलको निष्कर्ष श्वेतपत्रका रूपमा सरकारलाई बुझाउने एनआरएनएका अध्यक्ष भवन भट्टले बताए ।
विश्व विज्ञ सम्मेलनका संयोजक हेमराज शर्माका अनुसार कार्यक्रममा ४ सय बढीको सहभागिता छ ।
तीन दिन चल्ने सम्मेलनमा पहिलो र दोस्रो दिन नीतिगत समस्या र समाधानका विषय केन्द्रित ४ वटा कार्यपत्र रहने संघले जनाएको छ ।
यस्तै अन्तिम दिन भने कृषि, जलविद्युत्, पर्यटनलगायतका विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।
FACEBOOK COMMENTS