काठमाडौं, आश्विन ८ – जर्मनीमा उपचार गराईरहेका रसी विपक्षी नेता अलेक्सी नाभाल्नी अस्पतलाबाट डिस्चार्ज भएका छन् । बर्लीनस्थित चेरिते अस्पतालमा ३२ दिन उपचार गराएपछि नाभाल्नी हिजो डिस्चार्ज भएका हुन् । ३२ दिनमध्ये २४ दिन उनलाई सघन उपचार कक्षमा राखिएको थियो ।
हिजो अस्पतालबाट डिस्चार्ज भएपछि नाभाल्नीले कसैको सहयोगबिना एक्लै उभिएको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । कडा खालको स्नायु विष दिइएको आशंका गरिएका नाभाल्नी थप उपचारका लागि अझै केही दिन जर्मनीमै रहनेछन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक मानिने नाभाल्नी गत अगष्ट २० तारिखमा रुसको साईबेरियाबाट मस्को फर्कदै गर्दा विमानमै गम्भिर विरामी भएका थिए । त्यसपछि दुई दिनसम्म साईबेरियाकै ओम्स्क शहरमा उपचार गराएपछि जर्मनीको एउटा च्यारिटी संस्थाको सहयोग र समन्वयमा नाभाल्नीलाई कोमामा रहेकै बेला बर्लिन ल्याईएको थियो ।
नाभाल्नी र उनका समर्थकहरुले रुस सरकारले विष दिएको आरोप लगाईरहेका छन् । रुसले भने आरोप अस्विकार गरेको छ । स्विडेन, फ्रान्स र जर्मनीका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा नाभाल्नीको शरिरमा स्नायु विष नोभिचोकको अंश फेला परेको दावी गरिएको छ । एजेन्सी
FACEBOOK COMMENTS