काठमाडौँ, १८ चैत –कोरोना संक्रमणको उच्च जोखिममा रहेको वीरगन्जमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार साँझ ३८ जनाको पिसिआर परीक्षण गर्दा पर्साका ६ र बाराका २ गरी ८ जनामा संक्रमण भेटिएको हो।
अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशनल दासका अनुसार संक्रमण पुष्टि भएका पर्साका ६ जना सबै वीरगन्ज महानगरपालिकाका हुन्।
वीरगन्ज महानगरपालिका वडा नम्बर ८ का ५१ वर्षीय पुरुष, वडा नम्बर १० का २८ र ३८ वर्षीय पुरुष, वडा नम्बर १३ का २३ र २५ वर्षीय पुरुष र वडा नम्बर २५ का ४० वर्षीय पुरुषमा संक्रमण भेटिएको हो।
यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ५ का २० वर्षीय पुरुष र वडा नम्बर ९ का ३१ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको डाक्टर दासले जानकारी दिए।
संक्रमण पुष्टि भएका ८ जनामध्ये १ जना संक्रमितको नारायणी अस्पतालमै भर्ना गरेर उपचार भइरहेको छ। अन्य ७ जना भने आफ्नै घरको होम आइशोलेसनमा रहेको जानकारी डाक्टर दासले दिए। यसअघि यहि चैत ८ गते वीरगन्जको नारायणी अस्पतालमै गरिएको परीक्षणमा एकै दिन १० जनामा संक्रमण पुष्टि भएको थियो।
FACEBOOK COMMENTS