काठमाडौं, वैशाख २८ – वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएका कोरोना संक्रमित बिरामीका लागि नेपाली सेनाले बाराको सिमरा पुगेर अक्सिजन ल्याएको छ । दुई हप्ता अघिदेखि सञ्चालनमा आएको जय अम्बे अक्सिजन ग्यास इन्ड्रष्टिज प्रालिको प्लान्टमै पुगेर मंगलबार नेपाली सेनाको हेलिकोप्टरले ४० वटा सिलिण्डर ल्याएको हो ।
सेनाले ६० वटा सिलिण्डर बाराको जितपुर–११ आमाटारस्थित कम्पनीको प्लान्टमा छोडेर आएको छ । जय अम्बे अक्सिजन ग्यास उद्योग देशको विद्यमान अवस्थालाई दृष्टिगत गरी दुई हस्ता अघिदेखि मात्रै सञ्चालनमा ल्याइएको निजी कम्पनी हो । कम्पनीले हाल दैनिक २५० सिलिण्डर (ठूलो सिलिण्डर) अक्सिजन उत्पादन तथा वितरण गर्दै आएको छ ।
‘कोरोना भाइरसको दोस्रो लहर शुरू हुनुअघि नै हामीले उद्योग सञ्चालनको तयारी गरेका थियौं । तर, हाम्रो तयारीका आधारमा कम्पनी सञ्चालन हुन अझै केही महिना लाग्ने थियो,’ जय अम्बेका प्रबन्ध निर्देशक दिपक थापाले भने, ‘देशको वर्तमान अवस्थालाई दृष्टिगत गरेर हामीले पूर्ण तयारीविनै उत्पादन थालेका हौं ।’ निर्धारित समयभन्दा तीन महिनाअघि नै उत्पादन गर्ने अवस्थामा पुर्याउने सहयोगी सम्पूर्णमा थापाले धन्यवाद प्रकट गरेका छन् ।
कम्पनीले चीनबाट ३ हजार थान अक्सिजन सिलिण्डर ल्याउने तयारी यसअघि नै गरेको छ । तर, स्थलमार्ग हुँदै आउने उक्त सिलिण्डर आउन अझै दुई महिना लाग्ने प्रबन्ध निर्देशक थापाको भनाइ छ । हाल कम्पनीले काठमाडौंका चिरायु र ललितपुरस्थित अल्का अस्पतालमा अक्सिजन नियमित आपूर्ति गर्दै आएको छ ।
सोही सन्दर्भमा आज मंगलबार वीरेन्द्र सैनिक अस्पतालले आकस्मिक सप्लाई माग गरेअनुसार ४० वटा सिलिण्डर पठाईएको थापाको भनाइ छ । आकस्मिकबाहेक उक्त अस्पतालले आगामी दिनमा स्थलमार्गबाटै अक्सिजन लैजाने बताएको छ ।
FACEBOOK COMMENTS