काठमाडौं, मंसिर ३० – शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आफु मन्त्री भएर आउनुभन्दा अघि र हालको योजनालाई व्यवस्थित बनाएर लैजाने बताएका छन् । मन्त्रालयमा कार्यभार सम्हालेकाे दुई महिनाको समिक्षापछि मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अबको आफ्नो काम विकास निर्माणमा मात्र केन्द्रीत रहने बताए ।
समिक्षा बैठकपछि मन्त्रालय मातहतका सबै निकाय र आयोजना प्रमुखसंग दुई महिनाभित्र सम्पादन गर्ने कामको लिखित कार्ययोजना सहित प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी अबको कामको शुरुवात गरेका मन्त्री श्रेष्ठले विकास निर्माणको कार्यलाई नमुनाको रुपमा अघि बढाउने दावी गरे।
मन्त्रीको कार्यभार सम्हालेपछि आफुले अनुगमन गरेका सबै विकास निर्माणको कामलाई तोकिएकै समयमा सम्पन्न हुने बताए । माघ मसान्तसम्म गोदाबरीको हल निर्माण सम्पन्न गर्ने र धोबीखोला करिडोरको बिजुलीबजारको पुलको अन्डरपास तयार भएर सञ्चालनमा आउने जानकारी दिए ।
उनले दुई महिनाभित्र वीर अस्पतालको ५ सय क्षमताको वेड सहितको कोभिड संक्रमितको उपचार व्यवस्था गर्न लागिएको बताए । मन्त्रीको कार्यभार सम्हालेको भोलीपल्ट मन्त्री श्रेष्ठ वीर अस्पताल पुगेका थिए ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव डा. रमेशप्रसाद सिंहले मन्त्रालयले जारी गरेको १८ बुदे कार्ययोजना र भावी कार्यक्रमलाई लागु गराएरै छाड्ने बताए।
‘तपाइहरूरुलाई हामी यो विश्वास दिलाउन चाहन्छौ कि मन्त्रालयले सार्वजनिक गरेको दुई महिने योजनाको सबै काम पुरा गर्नेछौ ।’ सिंहले भने । पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले दुई महिनाको अवधीमा मन्त्रालय र अन्तर्गतका निकायहरुबाट सम्पन्न भएका र आगामी दुई महिनाभित्र सम्पन्न गर्ने मु्ख्य मुख्य कार्यहरु बारे जानकारी दिए ।
दुई महिनाकाे अवधीमा मन्त्रालयले बञ्चरे डाडामा फोहोर व्यवस्थापन गर्ने , उपत्यका लगायत देशभरका नगरपालिकाहरुको फोहोरमैलाको आधुनिक प्रविधी अवलम्बन गरेर व्यवस्थापन गर्ने सम्बन्धमा सम्भाब्यता अध्ययन गरी प्रतिवेदन पेश गर्न विज्ञ प्राविधिकको संयोजकत्वमा उच्चस्तरीय टोली गठन गर्ने रहेकाे छ ।
FACEBOOK COMMENTS