काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले रोजगारी दिने संस्थाले श्रमिकलाई बैंक खातामा तलब दिनुपर्ने बताएका छन्।
न्यूनतम पारिश्रमिक निर्धारण समितिले निर्धारण गरेको नयाँ पारिश्रमिक सार्वजनिक गर्दै मन्त्री बिष्टले बैंक खातामा तलब उपलब्ध गराए नगराएको अनुगमन गर्ने उल्लेख गरे।
समितिले निर्धारण गरेको पारिश्रमिक साउन १ गतेदेखि लागू हुने र त्यही दिनदेखि बैंक खातामा तलब उपलब्ध गराउनुपर्ने बिष्टले बताए।
कतिपय रोजगारदाता प्रतिष्ठानले कर्मचारीलाई तोकिएको तलब नदिने संभावना रहेकाले बैंक खातामा तलब जम्मा गर्नुपर्ने र त्यसको विवरण मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था गरिएको उनले बताए।
सोमबार विहान बसेको न्यूनतम पारिश्रमिक निर्धारण समितिको बैठकले श्रमिकको पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ तोकेको थियो। विद्यमान ९ हजार ७ सय रुपैयाँमा ३ हजार ७ सय ५० रुपैयाँ थप गरिएको हो।
