काठमाडौं, बैशाख २२- निजी क्षेत्रले लकडाउनको अवधिमा श्रमिकहरुलाई ५० प्रतिशतभन्दा बढी पारिश्रमिक दिन नसकिने प्रष्ट पारेको छ ।
नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले सरकारले भनेअनुसार श्रमिकहरुलाई ५० प्रतिशतभन्दा बढि पारिश्रमिक दिनसक्ने अवस्था नै आफूहरुको नरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले संयुक्त प्रेस विज्ञप्ति जारी गरी सो कुरा बताएका हुन् ।
अर्थ मन्त्रालयले यसअघि एक परिपत्र गर्दै उद्योग कलकारखानामा कार्यरत कर्मचारी तथा श्रमिकलाई सतप्रतिशत तलब दिन र तलब दिने पैसा नभए ५० प्रतिशत तलब बराबरको रकम बैंकबाट सहुलियत दरमा कर्जाको रुपमा लिन सकिने व्यवस्था गरिएको बताएको थियो । तर निजी क्षेत्रले ५० प्रतिशत भुक्तानी दिन सकिने बताएका छन् ।
दुई संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा लकडाउनका कारण उद्योग व्यवसाय ठप्प भएकोले पारिश्रमिक उपलब्ध गराउन नसक्ने बताएका छन् । विज्ञप्तिमा भनिएको छ -‘अहिलेको परिस्थितिमा उद्योग व्यवसाय क्षेत्रले अधिकतम ५० प्रतिशत भन्दा बढी पारिश्रमिक भुक्तानी गर्न अत्यन्त कठिन भएकाले श्रमिकको पारिश्रमिकको सम्वन्धमा नेपाल सरकारले गरेका निर्णयहरू कार्यान्वयन गर्न ठूलो समस्या देखिएको छ । ‘
श्रमिकहरूको पारिश्रमिक भुक्तानी सम्वन्धमा यस महासंघ लगायत नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका निजी क्षेत्रका संस्थाहरूको तर्फबाट मिति २०७७ वैशाख १० गते नेपाल सरकार समक्ष पेश गरिएको संयुक्त सुझाव समेतलाई ध्यानमा राखि उद्योग र श्रमिक दुवैको बचाउ गर्नुपर्ने भएकाले निजी क्षेत्रको तर्फबाट प्रस्तुत सुझाव कार्यान्वयन गर्न सहज हुने गरी नेपाल सरकारले श्रमिकको पारिश्रमिक भुक्तानी सम्वन्धमा गरेका निर्णयहरू पुनरावलोकन गर्ने व्यवस्थाका लागि नेपालका सम्पूर्ण निजी क्षेत्रको तर्फबाट नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछौं ।
FACEBOOK COMMENTS