काठमाडौं, ५ पुस – साताको पहिलो कारोबार दिन नेपाली धितोपत्र बजारमा ‘प्यानिक सेल’ देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान आकस्मिक बैठक डाकेर संसद विघटनको प्रस्ताव गरेको समाचार बाहिरिएसँगै शेयर बजारमा ‘प्यानिक सेल’ बढेको हो। फलस्वरुप नेप्से परिसूचक ९६.८८ अंक अर्थात ४.७७ प्रतिशत घटेर १९३५.६३ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १६.३९ अंक, फ्लोट इण्डेक्स ५.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३३ अंक घटेको छ। राजनैतिक अस्थिरता आउने डरले लगानीकर्ताहरुको मनोबल खस्किदा बजारमा ‘प्यानिक सेल’ बढेको जानकारहरु बताउँछन्।
यद्यपि, संसद विघटनले शेयर बजारमा पनि तत्कालका लागि नकारात्मक प्रभाव परेको भएपनि आत्तिहाल्नु पर्ने बेला नभएको उनीहरुको भनाइ छ। संसद विघटन राजनैतिक निकास खोज्नका लागि गरिएको हुनाले यसले पूँजीबजारमा ठूलो असर नपर्ने उनीहरुको विश्लेषण छ। नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन बजारमा १९८ कम्पनीको ७९ हजार ९८७ पटकको कारोबारमा ९ अर्ब ४ करोड ७९ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ४५ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।