काठमाडौं,फागुन १८ – सनराइज बैंक लिमिटेडले स्याङ्गजा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं.–११, हेलु, स्याङ्गजामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७१ पुगेको छ ।
बैंकले पुतलीबजार नगरपालिका वडा नं.–११, हेलु, स्याङ्गजामा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा यूवराज अर्याललाई नियुक्त गरेको छ ।
शनिबारमा आयोजित कार्यक्रममा प्रमुख अतिथिमा पुतलीबजार नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष भवानी प्रसाद लामिछानेको उपस्थिती रहेको थियो । साथै भिरकोट नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष शेषकान्त अर्याल, भिरकोट नगरपालिका उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जगदिश प्रसाद कोईराला समेतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा सनराइज बैंकका गण्डकी प्रदेश प्रमुख सुजन पौडेल, वालिङ्ग शाखाका शाखा प्रवन्धक ध्रुब प्रसाद लम्साल र अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ७१ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएममार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS