काठमाडौं । सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखहरुको बैठकमा भाग लिन आज कजाकस्तान प्रस्थान गरेका छन् ।
सभामुख महरा ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज (शनिबार) बिहान कजाकस्तानतर्फ प्रस्थान गरेका हुन् ।
यही सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठकमा सभामुख महरा नेतृत्वको प्रतिनिधि मण्डल सहभागी हुनेछ ।
प्रतिनिधि मण्डलमा प्रतिनिधि सभाका सदस्य मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि, संघीय संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक बसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन रहेका छन् ।
कजाकस्तानको अस्तानामा हुने उक्त बैठकमा कजाकस्तानका लागि नेपाली महावाणिज्यदूत बरुण चौधरी र प्रतिनिधिसभा सदस्य विनोद चौधरी पनि सहभागी हुनेछन् ।
उक्त बैठकमा नेपालको तर्फबाट सभामुख महराले सम्बोधन गर्ने कार्यक्रम छ ।
सभामुख महरा सहितको टोलीलाई त्रिभुवन विमानस्थलमा संघीय संसदका निमित्त महासचिव गोपालनाथ योगीले बिदाइ गरेका थिए ।
FACEBOOK COMMENTS