काठमाडौं, भदौ २४ – सामुदायिक विद्यालयमा कार्यरत अनुदान शिक्षकलाई सरकारले समयमै तलब नदिएपछि शिक्षकले आन्दोलन गरेका छन् । सरकारले हरेक आर्थिक वर्ष शुरुवात हुन अगावै स्थानीय तहलाई एकमुष्ठ पारिश्रमिक बराबरको रकम निकासा गर्ने भएपनि चालु आर्थिक वर्षमा बजेट निकास नहुँदा शिक्षकले तलब खान नपाएको बताए ।
‘तलब नपाएको विषयमा पटक पटक सम्बन्धीत निकायसँग समस्या अवगत गराउँदा समेत कुनै सुनुवाई भएन, ‘उनले भने, ‘अहिले देशैभरीका शिक्षक कोरोना कहरका बेला बाध्य भएर आन्दोलन गर्नुपरेको छ ।’ कोरोना कहर चलिरहेका बेला उनीहरुले पारिश्रमिक नपाएपछि समस्यामा मात्रै नभइ मानसिक तनाव भोग्नु गरेको छ ।
शिक्षक सिकाई सहयोग अनुदान कोठामा कार्यरत शिक्षकले चालु शैक्षिक सत्र ०७७ देखि तलब वापतको पारिश्रमिक पाएका छैनन् । सहकर्मी अन्य शिक्षकले तलब पाएपनि अनुदानका शिक्षकले तलब नपाएपछि उनीहरु मारमा परेका हुन् । सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरवृद्धिका लागि मावि तहमा अंग्रेजी गणित र विज्ञान विषयमा विषयत शिक्षक भर्ना गरेको थियो ।
अनुदान कोटामा कार्यरत शिक्षक केशव साउदले चालु शैक्षिक सत्रदेखि तलब नपाएर समस्यामा परेको बताए । ‘अनुदान कोटामा कार्यरत हाम्रा शिक्षकले गत वैशाखदेखि तलब पाएका छैनन, ‘उनले भने, ‘तलब नपाएपछि दैनिक समस्या खेप्नु परेको छ ।’
शिक्षक सिकाई सहयोग अनुदान शिक्षक जिल्ला संघर्ष समिति कञ्चनपुरले मंगलबार शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा तलब नपाएको विषयमा तालाबन्दी र धर्ना गरेको छ ।
शिक्षक सिकाई सहयोग अनुदान शिक्षक जिल्ला संघर्ष समिति कञ्चनपुरका अध्यक्ष बलबिर सिह भण्डारीले तलब नपाएकै कारण बाध्य भएर कार्यालयमा तालाबन्दी गरिएको बताए ।
‘हामीले तलबको विषयमा स्थानीयदेखि केन्द्रसम्म घचघच्याएका थियौँ, ‘उनले भने, ‘अहिलेसम्म कुनै सुनुवाई नभएन, न कुनै आधिकारिक निकायबाट पहल भयो ।’ बाध्यताबस तालाबन्दी गरिएको बताउदै उनले यसअघि पालिका र शिक्षा विकास तथा समन्वय इकाइ केन्द्रमा अवगत गराउँदा पनि सुनुवाई नभएपछि तालाबन्दी गरिएको बताए । ‘अहिले हामीले अनिश्चिकालिन तालाबन्दी आन्दोलन गरेका छौँ, ‘उनले भने, ‘यथाशिघ्र माग सम्बोधन नभए आन्दोलनमा उत्रिन बाध्य हुने छौँ ।’
FACEBOOK COMMENTS