काठमाडौं, भदौ १८ – कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि गरिने आवश्यक तयारीप्रति सरकार गम्भीर नभएको कांग्रेसको आरोप छ । कांग्रेसले गठन गरेको ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक प्रकाशशरण महतले विज्ञप्ति जारी गर्दै सरकारले कुनै अध्ययन नगरी हचुवाका भरमा लकडाउन र निषेधाज्ञा लगाएको बताएका छन् ।
‘उपत्यकामा विना कुनै अध्ययन पुनः निषेधाज्ञा थपिएको छ । देशको विभिन्न भागहरुमा पनि निषेधाज्ञा लागू गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस्ता लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेका छन् ।’ सरकारले अन्य कुनै तयारी तथा कोरोनाबाट समाजलाई मुक्त बनाउनेतर्फ कुनै काम नगरेको कांग्रेसको आरोप छ ।
विना अध्ययन गरिएको निषेधाज्ञाले आर्थिक–सामाजिक संकट चुलिँदै गएको तर संक्रमण भने नरोकिएको अनुगमन समितिका संयोजक महतको भनाइ छ ।
‘कतिपय ठाउँमा समुदाय स्तरमै संक्रमण फैलिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘निषेधाज्ञा स्थानीय प्रशासनलाई अघि सारेर सरकार कोरोना रोकथाम र उपचारको मूल जिम्मेवारीबाट पन्छिन खोज्दै छ ।’
कांग्रेसका तर्फबाट कोभिड–१९ अनुगमन समितिले केही दिन अगाडि १३ बुँदे ध्यानाकर्षणसहित सरकारसँग कोरोना रोकथाम, उपचार व्यवस्थापन र आर्थिक-सामाजिक संकट कम गर्न अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न माग गरे पनि सरकारसँग अझै जनतालाई आश्वस्त पार्ने कुनै तयारी नदेखिएको महतले बताएका छन् ।
FACEBOOK COMMENTS