काठमाडौं, चैत ५ – हरेक वर्ष पुसदेखि नै आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया सुरु हुने भए पनि चैत लागेसँगै बजेट निर्माणको प्रक्रियाले तीव्रता लिन्छ । यस वर्षको बजेट किन पनि चर्चामा छ । कोरोना महामारीले थलिएको अर्थतन्त्रमा सरकारले कस्तो नीति ल्याउँछ, सबैलाई यसको प्रतीक्षा छ । सर्वसाधारणको चासोमा राहत, रोजगारी र प्रविधि देखिएको छ ।
पुराना अर्थमन्त्रीले कोरोनाबाट पीडित उद्योगी–व्यवसायी मात्र नभएर सर्वसाधारणको पनि चिन्ता नगरेको आरोप लाग्दै गर्दा अबका अर्थमन्त्रीले कस्तो बजेट ल्याउलान्, त्यो पनि प्रतीक्षाको विषय हो । वर्तमान सरकारकै अर्थमन्त्रीले बजेट ल्याउलान् वा अर्का अर्थमन्त्री आउलान् भन्दा पनि देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन पनि सरकारले अब ल्याउने बजेटले महŒवपूर्ण भूमिका खेल्न सक्छ भन्ने सर्वसाधारणको चासो छ ।
आउँदो बजेटमा सरकारले साना व्यवसायहरूलाई केन्द्रमा राखेर बजेट ल्याउनुपर्ने नवलपरासीकी इशा गुरुङ बताउँछिन् । आमनागरिकसँग ठूलो लगानी गरेर व्यवसाय सञ्चालन गर्ने रकम नहुने हुँदा साना व्यवसाय प्रवद्र्धनमा जोड दिनुपर्ने उनको भनाइ छ ।
“देशमा आर्थिक समृद्धि हासिल गर्नु छ भने साना व्यवसायलाई उत्साहित गर्ने बजेट ल्याउनुपर्छ,” उनी भन्छिन्, “त्यसले देशमा रोजगारी पैदा गर्नुका साथै युवाहरूमा उत्साह थप्नेछ ।”
त्यस्तै उनी बजेटमा प्रविधिमाथि जोड दिनुपर्ने बताउँछिन् । अबको युग प्रविधिको भएको भन्दै उनी कृषि, शिक्षा, स्वास्थ्यलगायत हरेक क्षेत्रमा प्रवृधिको पहुँचलाई बढाउने बजेट ल्याउनुपर्ने औँल्याउँछिन् ।
आमनागरिक, व्यवसायी, कर्मचारी तथा युवा विद्यार्थीहरू पनि देशमा अवसर सिर्जना गर्ने खालको बजेट माग गर्छन् । लोकन्थली भक्तपुरका प्रेम मग्राती बजेट जताततै छरिन नहुने बताउँछन् । उनका अनुसार महत्वका क्षेत्रहरूलाई आँैल्याएर केन्द्रीकृत बजेट ल्याउनुपर्छ । “पहाडमा एउटा बाटो लैजानुपर्नेछ भने त्यसलाई खनेर छाड्ने मात्र होइन, पिच नै गर्नुपर्छ,” उनी भन्छन्, “विभिन्न क्षेत्रमा थोरै–थोरै बजेट ल्याउनुभन्दा चलिरहेका कार्यक्रमहरूलाई पूरा गर्नतर्फ ध्यान दिनुपर्छ ।”
मग्राती राष्ट्रिय गौरवका आयोजनाहरूलाई पनि केन्द्रित भएर बजेट ल्याउनुपर्ने बताउँछन् । उनका अनुसार बजेट बजेटका लागि मात्र नभएर उत्पादन बढाउनका लागि ल्याउनुपर्छ । जलविद्युत्लगायत अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने उनको तर्क छ ।
भक्तपुरमा साग बेच्दै गरेकी शान्तामाया तामाङलाई सरकारले कस्तो बजेट ल्याउने हो भन्ने बारे त थाहा छैन, तर उनी सरकारले आफ्ना छोराछोरीलाई पढाइलेखाइमा सहयोग गरोस् भन्ने चाहन्छिन् । उनका अनुसार सरकारले उनका छोराछोरीलाई निःशुल्क रूपमा शिक्षा दिनुपर्छ ।
त्यस्तै किसानहरूलाई पनि सहज रूपमा खेती गर्न, उत्पादनलाई बजारसम्म पु-याउन सहज हुने तथा समयमै मलको व्यवस्था गर्नुपर्ने उनी बताउँछिन् । भक्तपुरकै अर्का कृषक कृष्ण महर्जन सरकारले समयमा नै मलको आपूर्ति गर्न बजेटको व्यवस्था गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, “अघिल्ला वर्षहरूमा सरकारले गतिलो योजना नबनाउँदा हामीजस्ता कृषकहरूले मल पाउन सकेनौँ । यस वर्ष त्यसमा ध्यान दिनुपर्छ ।”
यस्तै, कोरोना महामारीका कारण देशमा बेरोजगारी बढिरहेको छ । त्यसैले अबको बजेटले बेरोजगारीको समस्यालाई हटाउनुपर्ने कोटेश्वर, काठमाडौंका रोशन भुजेल बताउँछन् । “अघिल्लो वर्षको बजेटमा देशमा लाखौँ रोजगारी सिर्जना गरिने बताइएको थियो,” उनी भन्छन्, “त्यसो हुन सकेन । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छुट्ट्याइएको बजेट पनि कता के भयो अत्तोपत्तो छैन ।”
अब सरकारले देशमा उद्योगधन्दाहरूमा लगानी बढाई रोजगारी सिर्जना गर्नुपर्ने उनी बताउँछन् । कोरोनाको समयमा दुबईबाट फर्किएका वासुदेव घिमिरे लगानीका लागि सरकारले सुलभ मूल्यमा ऋणको व्यवस्था गर्नुपर्ने बताउँछन् ।
“दुबईबाट फर्किएपछि मैले कुखुराको फार्म खोलेको छु,” उनी भन्छन्, “त्यसका लागि मैले चर्को ब्याजदरमा ऋण लिनुप-यो । यदि सरकारले सुलभ ब्याजदरमा ऋण दिने व्यवस्था गर्ने हो भने मजस्ता युवा बिदेसिनुपर्ने अवस्था आउँदैन ।”
देशमा महँगी र कालोबजारी बढिरहेको भन्दै लोकन्थली, भक्तपुरका साना व्यापारी तुलाराम कार्की देशमा नै उत्पादन बढाउनुपर्ने बताउँछन् । उनका अनुसार आउँदो बजेटमा सरकारले आन्तरिक उत्पादनहरूलाई उत्साहित गर्नुपर्छ । “भारतमा कच्चापदार्थको दाम बढ्दा नेपालमा सामान बेची नसक्नु भएको छ,” उनी भन्छन्, “आन्तरिक उत्पादनलाई नै बढाउने हो भने नागरिकले सस्ता दाममा वस्तुको उपभोग गर्न पाउँछन् ।” त्यस्तै उनी विदेशबाट ल्याउने सामानहरूमा पनि महŒवका आधारमा करको निर्धारण गर्नुपर्ने बताउँछन् ।
FACEBOOK COMMENTS