काठमाण्डौ, साउन १७ – सरकारले मास्क नलगाएर हिँड्नेलाई कारवाही गर्न निर्देशन दिएपछि सल्यानमा मास्क नलगाउने १ हजार २ सय बढी कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानले गृह मन्त्रालयको परिपत्र अनुसार गत असार २७ गते देखि मास्न प्रयोग नगर्नेहरूलाई कारवाही गर्न थालेको हो ।
असार २७ यता सल्यानमा १ हजार २ सय ४६ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ‘गृहमन्त्रालयको निर्देशन बमोजिम मास्क प्रयोग नगरेर बाहिर हिँडेकाहरूलाई असार २७ देखि कारवाही गर्न सुरु गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय सल्यानले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘त्यसयता जिल्लामा १ हजार २ सय ४६ जनालाई कारवाही गरिएको छ ।’ प्रहरीले मास्क प्रयोग नगरेकाहरूलाई कारवाही स्वरुप प्रति व्यक्ति एक सय रुपैयाँ जरिवाना गर्ने गरेको छ ।
१ हजार २ सय ४६ जनालाई कारवाही गरेको सल्यान प्रहरीले उक्त कारवाहीबाट १ लाख २४ हजार ६ सय रुपैयाँ राजश्व समेत संकलन गरेको छ ।
लकडाउन खुल्ला गरेसंगै मास्क प्रयोगकर्ताहरूको संख्या पनि पातलिँदै गएपछि गृहमन्त्रालयले मास्क प्रयोगमा अनिवार्य गरेको हो । मास्क प्रयोग नगरेको खण्डमा कारवाही गर्न गृहले प्रहरीलाई निर्देशन दिएको थियो । रोग संक्रामक रोग ऐन २०२० अनुसार मास्क प्रयोग नगर्नेहरूलाई १ सय रुपैयाँ जरिवाना गर्नेगरि गृहले प्रहरीलाई निर्देशन दिएको थियो ।
प्रहरीले यसलाई पहिलो चरणको कारवाही समेत भनेको छ । ‘रोग संक्रामक रोग ऐन २०२० अनुसार मास्क प्रयोग नगर्नेहरूलाई १ सय रुपैयाँ जरिवाना गर्नेगरि पहिलो चरणको कारवाही प्रकृया अगाडी बढाईएको हो,’ जिल्ला प्रहरी कार्यालयले सल्यानले भनेको छ ।
FACEBOOK COMMENTS