काठमाडौं, असोज २६ – सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा माग भन्दा ६ दशमलव ९६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार अन्तिम दिन असोज २५ गते साझ ५ बजेसम्म ८ लाख ८३ हजार ६२३ जना आवेदकबाट १ करोड ९० लाख १२ हजार ३४० कित्ताको लागि आवेदन परेको हो ।
कम्पनीले छिटोमा असोज २५ र ढिलोमा कात्तिक ६ गतेसम्मका लागि सार्वजनिक निष्कासन मार्फत २७ लाख ३० हजार कित्ता शेयय विक्री खुला गरेको हो । छिटो अवधिभित्रै मागभन्दा बढी आवेदन परेकाले विक्री बन्द गरिएको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको भनाई छ ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याको रू. ३० करोड बराबरको ३० लाख कित्ता आईपीओमध्य १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको छ । यो आईपीओ विक्रीका लागि असार १४ गते निवेदन दिएको सानिमा जनरल इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट असोज ५ गते स्वीकृति पाएको थियो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ७० करोड रहेको छ । रू. १ अर्ब जारी पूँजी रहेको यस कम्पनीको सर्वसाधारणलाई आईपीओ विक्री पश्चात जारी पूँजी बराबरको रकम कायम हुनेछ । यस कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव ६६ र प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ३९ रहेको छ ।
FACEBOOK COMMENTS