काठमाडौं, पुष २८ – टेलिभिजन रिमोटको ब्याट्री समाप्त हुन धेरै समय लाग्दैन । यस्तोमा रिमोर्टले राम्रोसँग काम गर्न नयाँ ब्याट्री एक मात्र विकल्प हुनपुग्छ । यसबाट एकातिर खर्च बढ्छ भने अर्कोतर्फ फोहोर ।
तर दक्षिण कोरियाली कम्पनी सामसङले यसको एउटा सजिलो समाधान पत्ता लगाएको छ । सामसङले एउटा यस्तो रिमोर्ट सार्वजनिक गरेको छ, जुन सौर्य ऊर्जाबाट सञ्चालन हुन्छ ।
यसको मूख्य विशेषता नै के छ भने यो रिमोर्ट झ्याल तथा ढोकाबाट घरभित्र छिर्ने सूर्यको किरणबाट नै चार्ज हुनसक्छ । जसले गर्दा ब्याट्री फेरिरहनुपर्ने झन्झटबाट मुक्ती मिल्छ ।
साथै यसले प्रदुषणमा समेत लगाम लाग्नेछ । सामसङका अनुसार यो रिमोटमा कुल ३१ प्रतिशत प्लास्टिक प्रयोग गरिएको छ । त्यसमा पनि २४ प्रतिशत रिसाइकल प्लास्टिक प्रयोग भएको छ ।
दक्षिण कोरियाली कम्पनीले आफ्नो ‘गोइङ ग्रिन’ योजना अन्तर्गत सौर्य रिमोटको घोषणा गरेको हो । यो नयाँ टिभी रिमोटको नाम ‘सोलर सेल रिमोट कन्ट्रोल’ राखिएको छ ।
यसमा एउटा सानो सौर्य प्यानल लगाइएको छ । जसमार्फत घरभित्र तथा बाहिर रहेको सौर्य प्रकाशबाट ब्याट्री चार्ज हुने गर्दछ ।
कम्पनीको यो नयाँ रिमोटबाट सात वर्षमा करिब ९ लाख ९० करोड ब्याट्रीबाट उत्पन्न हुने फोहोर रोक्न मद्दत पुग्नेछ । कम्पनीले इको फ्रेन्डली योजना विस्तार गर्दै सन् २०२१ मा सार्वजनिक हुने अधिकांश टेलिभिजन सेटका लागि प्लास्टिक बोतल रिसाइकल गरेर उपयोग गर्नेछ ।
साथै यसै वर्ष सार्वजनिक हुने सामसङ टिभीको साथमा यो नयाँ सोलार रिमोट उपलब्ध हुन सक्ने बताइएको छ ।
FACEBOOK COMMENTS