काठमाण्डौँ — राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजनाअन्तर्गत डुडुवा नहर निर्माणमा चरम लापरवाही गरेको ठहर गर्दै सरकारले पप्पु कन्स्ट्रक्सनसँगको ठेक्का तोडेको छ ।
सम्झौताअनुसार काम नगरेको भन्दै सरकारले निर्माण कम्पनी कोस्टल(पप्पु जेभीसँगको ठेक्का तोडेको हो ।
आयोजना र कोस्टल पप्पु जेभीबीच भएको सम्झौताअनुसार सिक्टाको दोस्रो शाखा डुडुवाको नहर निर्माणको काम यही असोजभित्र सकिनुपर्ने थियो ।
तर, निर्माण कम्पनीले विभिन्न बहानामा ढिलासुस्ती गरी हालसम्म सात प्रतिशत मात्रै काम गरेको सिक्टा सिँचाइ आयोजना बाँकेले जनाएको छ ।
बाँकेको करिब १६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुयाउने उद्देश्यले कोस्टल पप्पु जेभीले २०७३ असारदेखि नहर निर्माणको काम सुरु गरी २८ महिनाभित्र यही असोजमा सक्ने गरी सम्झौता भएको थियो ।
तर, उक्त ठेक्काको म्याद सकिँदा प्रगति निराशाजनक भएका कारण जलस्रोत तथा सिँचाइ विभागले ठेक्का तोडेको सिक्टा सिँचाई आयोजनाका सूचना अधिकारी प्रकाशबहादुर कार्कीले बताए
समयमै काम सम्पन्न गर्न पटक–पटक सार्वजनिक सूचना प्रकाशित गर्नुका साथै ताकेता गर्दा पनि बेवास्ता भएपछि बाध्य भई ठेक्का तोडिएको उनको भनाइ छ ।
– कारोबार
FACEBOOK COMMENTS