काठमाडौं, माघ ६- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक वर्षको पहिलो ६ महिनामा करिब ६९ करोड रुपैयाँ नाफा कमाएको छ ।
बैंकले सार्वजनिक गरेको पुस मसान्त अवधीको वित्तिय विवरण अनुसार ६८ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा कमाउन सफ जनाएको हो । यो अघिल्लो वर्षको नाफाको तुलनामा करिब ११ प्रतिशत कम हो । अघिल्लो वर्ष सो बैंकको नाफा ७७ करोड ३ लाख रुपैंया थियो ।
बैंकले यो अवधीमा वितरण योग्य नाफा नै ६२ करोड १० लाख रुपैयाँ आर्जन गर्न सफल भएको देखिन्छ । यद्यपी सो आँकडामा ११ करोड रुपैयाँ भने रेगुलेटरी एडजस्टमेन्टबाट प्राप्त भएको छ ।
बैंकले पुस मसान्तसम्ममा ७५ अर्ब ५९ करोड निक्षेप संकलन गरी ६९ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको यो आकार अघिल्लो वर्षको तुलनामा क्रमशः ५ अर्ब र ८.५ अर्बले बढी हो । अघिल्लो वर्षको सोही समयमा निक्षेप ७० अर्ब ५० करोड र कर्जा ६२ अर्ब ९१ करोड रुपैयाँ थियो ।
८ अर्ब ६२ करोड चुक्ता पुँजी रहेको सिटिजन्सको जगेडा कोषमा २ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । बैंकको स्प्रेड दर ३.४५ प्रतिशत छ भने आधार ब्याज दर १०.७९ प्रतिशत छ । सिटिजन्सको प्रति सेयर आम्दानी १५.९५ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १४१.१३ रुपैयाँ रहेको छ ।
सिटिजन्सले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी र ब्याज खर्च दुवैमा सामान्य वृद्धि गरेको छ । ब्याज आम्दानी २ अर्ब १३ करोडबाट बढेर २ अर्ब ३२ करोड पुग्दा ब्याज खर्च १ अर्ब ३९ करोडबाट १ अर्ब ५९ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । कर्मचारी खर्च ३ करोड बढेर ५१ करोड र अन्य सञ्चालन खर्च करिब डेढ करोड बढेर २३ करोड नजिक रहेको देखिएको छ ।
FACEBOOK COMMENTS