श्रावण ४ — सिद्धार्थ राजमार्गमा खसेको एउटा पहिरो पन्छाउन नसक्दै पुनस् अर्को पहिरो खसेको छ । राजमार्गअन्तर्गत तानसेन नगरपालिका–८, गौडेपुलनजिकै खसेको पहिरोका कारण तीन दिनदेखि अवरुद्ध सडकको पहिरो नहटाउँदै तिनाउ गाउँपालिका दोभान बजारनजिक ठूलाठूला ढुंगासहित पहिरो खसेको छ ।
प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार केही दिनअघि तीन दिनसम्म बन्द भएको दोभान पैठेडाँडा नजिक आइतबार फेरि बिहान ठूला ढुंगा खसेको छ । राजमार्गको गौडेपुलनजिकै तीन दिनअघि खसेको पहिरो अझैसम्म पन्छाउन सकिएको छैन । सडक डिभिजनले दुवैतर्फबाट लोडर र एक्स्काभेटर लगाए पनि तीव्र गतिमा काम गर्न सकेको छैन । पहिरो ठूलो भएको र काम गर्न सहज रुपमा नपाएकाले ढिलाइ भएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी शिवु खत्रीले बताए । माथिबाट पहिरो खस्ने क्रम नरोकिएकाले पनि काम गर्न सहज रुपमा नसकिएको उनले जानकारी दिए ।
माथिल्लो भागबाट खस्न नरोकिएको र वर्षा भइरहेकाले पनि सडक खुलाउन नसकिएको प्रहरी चौकी प्रभासका प्रमुख एक्काबहादुर नेपालीले बताए । सडक डिभिजनले समयमै लोडर, एक्स्काभेटर नपठाएको र भएको लोडरले पनि काम नगर्दा खुलाउन ढिलाइ भएको यात्रुको आरोप छ ।
तानसेनतर्फबाट गएका सवारी साधन डुम्रे, गौडेपुलनजिक रोकिएको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, प्रहरी उपरीक्षक दीपक खरेललगायतले पहिरो गएको स्थानको अवलोकन गरी छिटोभन्दा छिटो खुलाउने प्रयास गरिएको यात्रु र चालकलाई आश्वासन दिएर फर्केका थिए । तीन दिनदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु र सवारी साधनका चालकले सास्ती भोगेका छन् ।
FACEBOOK COMMENTS