सिन्धुपाल्चोक — इन्द्रावती गाउँपालिका १० भोटसिपा हुँदै काठमाडौं गइरहेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस तिर्खुमोडबाट खस्दा हालसम्म १२ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । प्रहरीका अनुसार घटनास्थलमै ५, अस्पताल लैजाँदै गर्दा १ र धुलिखेल अस्पतालमा ६ जनाको मृत्यु भएको हो । अन्य केही यात्रुको अवस्था पनि गम्भिर रहेकोले मृतकको संख्या बढ्न सक्ने जानकारी प्रहरीले दिएको छ ।
बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन। प्रहरीका अनुसार बस भित्र र छतमा पनि यात्रुहरु खचाखच थिए। दुर्घटनामा सख्त घाइते ४० जनाभन्दा बढीको स्थानीय, प्रहरी र सशस्त्र प्रहरीका उद्धारकर्मीहरुले उद्धार गरी विभिन्न अस्पताल पठाएका छन्। नेपाली सेनाको हेलिकप्टरबाट १३ र एक निजी हेलिकप्टरबाट १० जना घाइतेको उद्धार गरी काठमाडौं ल्याइएको छ। थप उपचारका लागि काठमाडौं ल्याइएकाहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको सेनाले जनाएको छ।
हालसम्म मृतक ५ जनाको मात्रै सनाखत भएको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेकाअनुसार मृत्यु हुनेमा काभ्रे बनेपाका चालक केदार महाजु, पाँचखालकी संगीता पुर्कोटी, इन्द्रावती-९ की हिरा श्रेष्ठ, विनोद लम्साल, इन्द्रावती-१० का रितेश आचार्य छन्।त्यसैगरी धुलिखेलमा उपचारकै क्रममा जुमादेवी श्रेष्ठ, सुवास अधिकारी, गणेश तामाङ, मिना मगर र सुमिता पुर्कुतीको मृत्यु भएको छ।
बिहान ८ बजे भोटसिपा गाउँबाट हिँडेको बस करिब १० बजे ब्रेक फेल भएर तल खसेको अनुमान प्रहरीको छ।
FACEBOOK COMMENTS