काठमाण्डौँ — बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति गर्नुअघि राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गर्न लागिएको छ ।
बैंकले मनपरी ढंगले सीईओ नियुक्ति गर्न थालेकाले विकृति बढेको निष्कर्षका आधारमा राष्ट्र बैंकले यस्तो तयारी थालेको स्रोतले बताएको छ ।
सीईओ नियुक्तिसम्बन्धी विषयलाई व्यवस्थित बनाउनुका साथै सक्षम र व्यावसायिक (प्रोफेसनल) उम्मेदवार छनोट होस् भन्ने उद्देश्यले यस्तो व्यवस्था ल्याउन लागिएको जनाइएको छ ।
हाल सीईओ नियुक्त गरेपछि मात्र राष्ट्र बैंकलाई जानकारी दिने र वाणिज्य बैंकको सीईओले राष्ट्र बैंकको गभर्नरसमक्ष सपथ लिनुपर्ने व्यवस्था छ ।
आन्तरिक रूपमा भएको छलफलअनुसार नै निर्णय भए बैंकले सम्भावित सीईओको नाम राष्ट्र बैंक पठाउनुपर्नेछ ।
यसरी राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्र बैंक सञ्चालक समितिले सीईओ नियुक्ति गर्नुपर्नेछ ।
सीईओ नियुक्त गर्नुअघि स्वीकृति लिनुपर्ने व्यवस्था सम्बन्धमा राष्ट्र बैंकको नियमन समितिमा छलफल भइसकेको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS