काठमाडौँ — नेपाल इन्भेस्टमेन्ट बैंकले तनहुँ जलविद्युत् कम्पनीका लागि इटालियन कम्पनी सीएमसीका तर्फबाट राखेको धरौटी रकम फिर्ता पाएको छ । बैंक र सीएमसीबीचको मुद्दा इन्भेस्टमेन्टले जितेपछि उक्त पैसा बुधबार फिर्ता भएको हो ।
‘बुधबारसम्म ८।७४ मिलियन युरो ९करिब १ अर्ब २० करोड रुपैयाँ० फिर्ता भइसकेको छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले भने, ‘बाँकी ८५ करोड रुपैयाँ छिट्टै आइपुग्छ ।’ सुरुमा अमेरिकी डलरको विनिमय दरमा सामान्य फरक परेकाले ढिलो भए पनि अहिले दर मिलिसकेकाले बाँकी रकम पनि छिट्टै आउने उनले बताए ।
गत वर्ष तनहुँ विद्युत् आयोजनाको हेडवक्र्सको ठेक्का पाउँदा इटालियन कम्पनी सीएमसीले इटाली बैंकको जमानीमा इन्भेस्टमेन्ट बैंकमा २ अर्ब बराबरको कार्यसम्पादन जमानत राखेको थियो । सीएमसीले सर्तअनुसार काम नगरेपछि तनहुँ जलविद्युत् आयोजनाले ठेक्का रद्द गर्दै कार्यसम्पादन जमानतबापतको रकम लिएको थियो । इटालीको इन्टेसा सान पाओलो बैंकको अनुरोधमा इन्भेस्टमेन्ट बैंकले सीएमसीलाई बैंक ग्यारेन्टी दिएको थियो । ठेक्काका लागि इन्भेस्टमेन्ट बैंकबाट ८५ करोड १४ लाख १६ हजार रुपैयाँ र ८७ लाख ४९ हजार युरोको कार्यसम्पादन जमानत जारी गराएको थियो ।
इन्भेस्टमेन्ट बैंकले इटालीको बैंकसँग जमानत बराबरको रकम मागे पनि सीएमसीले इटाली अदालतमा मुद्दा दायर गरेका कारण उक्त पैसा रोकिएको थियो । इटालीको अदालतले सीएमसीको मुद्दाको सुनुवाइ गर्दै इन्टेसा सान पाओलोलाई तत्काल इन्भेस्टमेन्ट बैंकलाई रकम भुक्तानी नगर्न आदेश दिएको थियो । सोही आदेशअनुसार बैंकले पैसा फिर्ता पाएको हो । मुद्दाका क्रममा बैंकको साढे ३ करोड रुपैयाँ खर्च भएको र सबै जोड्दा खर्च रकम ५ करोड जति पुग्ने बैंकले जनाएको छ ।
तनहुँ जलविद्युत् आयोजना र सीएमसीबीच ०७५ असोज १५ मा सम्झौता भएको थियो । सम्झौताअनुसार २८ दिनभित्र कार्यस्थलमा पुग्नुपर्ने भए पनि सीएमसीले सर्त पालना नगरेपछि आयोजनाले सोही वर्ष फागुन २३ मा सम्झौता रद्द गर्दै कार्यसम्पादन जमानत जफत गरेको थियो । सीएमसी टाट पल्टिएको भन्दै निर्माणाधीन मेलम्ची आयोजनाको काम छाडेर भागेको थियो । त्यसपछि बैंकले पैसा माग्न थालेको हो ।
FACEBOOK COMMENTS