काठमाडौं, मंसिर ४ – नेपाल र भारतीय सीमा सुरक्षामा खटिएका दुवै देशका सुरक्षा अधिकारीहरूको उच्च तहको बैठक बुधबार (आज)बाट पोखरामा सुरु हुने भएको छ ।
सीमा अपराध, सीमामा संयुक्त सुरक्षा गस्ती र अवैध ओसारपसारलगायतका विषयमा छलफल हुने बैठकमा नेपालका तर्फबाट गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका पदाधिकारी सहभागी हुँदै छन् । तीन दिनसम्म चल्ने बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले र भारतका तर्फबाट सीमा सुरक्षा बलका डाइरेक्टर जनरल राजेशचन्द्रले नेतृत्व गर्दै छन् ।
बैठकमा नेपालका तर्फबाट १० र भारतका तर्फबाट ६ पदाधिकारीको सहभागिता रहनेछ । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठले सीमाका सुरक्षाका सवालमा हुने गरेको नियमित बैठकको चौथो शृंखला नै नेपालमा आयोजना हुन लागेको जानकारी दिए ।
‘यो नियमित बैठक हो, हरेक वर्ष हुने बैठकको यो चौथो शृंखला हो,’ डीआईजी श्रेष्ठले राजधानीसँग भने । अघिल्लो वर्ष सो बैठक भारतमा र त्यसअघिको वर्ष नेपालमा आयोजना भएको थियो । विगत चार वर्षदेखि सीमा सुरक्षा विषयमा दुवै देशका प्रतिनिधिबीच यस किसिमको बैठक हुने गरेको छ । पहिलो बैठक भारतमा नै भएको थियो ।
बैठकले सीमा क्षेत्रमा हुने गरेका अवैध गतिविधिलाई दुवै पक्षको सहमतिमा कसरी नियन्त्रणमा राख्ने भन्ने विषयमा छलफल हुने छ भने सीमा अपराध, सीमामा संयुक्त सुरक्षा गस्ती र अवैध ओसारपसारलगायत विषयमा समेत दुवै पक्षको रणनीतिलाई ब्युँताउनेछ । राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS