काठमाडौं, वैशाख ३१ – सूर्य नेपाल प्रालिले काठमाडौंका तीन वटा सरकारी अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्रीहरू प्रदान गरेको छ । कम्पनीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टर र निजामति कर्मचारी अस्पताललाई ६५ लाख रूपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
कम्पनीले ल्याटेक्स पञ्जा, सर्जिकल मास्क, अनुहार ढाक्ने फेस सिल्ड, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र अक्सिमिटर प्रदान गरेको छ । यी स्वास्थ्य सामग्रीहरू सम्बन्धित अस्पतालका कार्यकारी निर्देशकहरूलाई आज शुक्रबार हस्तान्तरण गरिएको कम्पनीले बताएको छ ।
स्वास्थ्य सामग्री हस्तान्तरण र वितरणको कार्यलाई ती अस्पतालमा कार्यरत चिकित्सकहरूको प्रतिनिधित्वसहित काठमाडौंस्थित गैरनाफामूलक संस्था ईजीबीओएसएले सहजीकरण गरेको थियो । विद्यमान कोभिड–१९ महामारीको दोस्रो लहरले मुलुकको स्वास्थ्य प्रणालीमा पारेको उल्लेख्य दबाबलाई विचार गरी यस प्रकारको अभूतपूर्व संकटको घडीमा कम्पनीले अन्य विभिन्न क्रियाकलापहरू समेत सञ्चालन गर्ने योजना रहेको बताएको छ ।
यस वर्षको शुरूवातमा नै कम्पनीले प्रत्येक प्रदेशले स्थापना गरेको ‘कोभिड–१९ उपचार तथा नियन्त्रण कोष’ मा १÷१ करोड रूपैयाँका दरले ७ करोड रूपैयाँ योगदान गरेको थियो ।
FACEBOOK COMMENTS