काठमाडौं, वैशाख १४ – अघिल्लो कारोबार दिन सोमबार ६५.५८ अंकले घटेको नेप्से परिसूचक आज मंगलबार ९२.४६ अंकले बढेर २ हजार ६०० विन्दुनजिक पुगेको छ । आइतबार र सोमबार लगातार उच्च अंकले घटेको बजार तेस्रो दिन मंगलबार भने ३.६९ प्रतिशतले वृद्धि भएको हो ।
यसदिन ९२ दशमलव ४६ अंक बढेर नेप्से परिसूचक २ हजार ५९९.०७ विन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार ७५.७९ अंक र सोमबार ६५.५८ अंक बजार घटेको थियो । यस्तै सोमबार २ हजार ५०६.६१ विन्दुमा बन्द भएको बजार मंगलबार २ हजार ५०६.५२ विन्दुदेखि खुलेको हो । सेन्सेटिभ इन्डेक्स पनि मंगलबार ३.२० प्रतिशत बढेको छ । १४.४८ अंक बढेर सेन्सेटिभ इन्डेक्स ४६७.२८ विन्दुमा पुगेको हो ।
सोमवार रू. ६ अर्ब ५९ करोड ९ लाख २८ हजार बराबरको १ करोड २९ लाख ११ हजार ७२१ कित्ता शेयर कारोबार भएकामा मंगलवार रू. ५ अर्ब १० करोड ९० लाख ९६ हजार बराबरको १ करोड २ लाख २ हजार २१९ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २१६ ओटा कम्पनीको ६३ हजार ५५८ पटकको व्यापारमा भएको हो ।
आज सबै समूहगत परिसूचकमा हरियाली छाएसँगै बैंकिङ्गको २.६ प्रतिशत, व्यापारिकको ५.५५ प्रतिशत, होटेल्स तथा पर्यटनको १.१९ प्रतिशत, विकास बैंकको ३.४४ प्रतिशत, वित्तको २.९१ प्रतिशत, निर्जीवन बीमाको ४.४ प्रतिशत, उत्पादन तथा प्रशोधनको ४.४९ प्रतिशत, अन्यको ३.६५ प्रतिशत, लघुवित्तको ४.७७ प्रतिशत, जीवन बीमाको ३.४१ प्रतिशत, म्युचुअल फण्डको १.३४ प्रतिशत र लगानी समूहको ४.६५ प्रतिशत परिसूचक बढेको छ ।
FACEBOOK COMMENTS