काठमाण्डौँ — सरकारले सौन्दर्य सामग्रीको मापदण्ड निर्धारण गर्न प्राविधिक समिति गठन गरेको छ ।
गुणस्तर तथा नापतौलले विभिन्न ब्रान्डका सामग्री परीक्षण गर्दा अत्यधिक रसायन फेला पारेपछि नियन्त्रण गर्न समिति गठन गरेको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको संयोजकत्वमा गठित समितिले तीन महिनाभित्र मस्यौदा तयार पार्नेछ ।
‘स्वदेशी मापदण्ड नभएपछि भारत, अमेरिका र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डलाई आधार मानेर परीक्षण गरेको र रसायनको मात्र बढी भेटिए पनि कारबाही प्रक्रिया अघि बढाउन नसकेको विभागका महानिर्देशक पुडासैनीले बताए ।
समितिमा गुणस्तर विभागसँगै अन्य नियमक निकाय, उद्यागीहरूको प्रतिनिधि, विषयगत विज्ञहरू, उपभोक्ता अधिकारकर्मीलगायत २० जना छन् ।
समितिलाई तीन महिनाको समय अवधि दिइएको छ ।
विभागका अनुसार पहिलो चरणमा फेसियल क्रिम, लिपिस्टिक र कलर क्रिमको मापदण्ड बनाइन्छ ।
यसअघि विभागले ६६ ब्रान्डका सौन्दर्य सामग्रीको परीक्षण गर्दा अधिकांशमा रसायन फेला परेको थियो ।
स्वदेशी तथा आयातित सौन्दर्य सामग्री परीक्षण गर्दा सिसा, मर्करी, क्रोमिएम, टिटानियमको मात्रा मापदण्डभन्दा बढी रहेको पाइएको हो ।
विभागले तयार पारेको प्रतिवेदनअनुसार डब्लूएचओले स्किन क्रिममा मर्करीको मात्रा १ पीपीएम मात्रै तोकिए पनि १३ हजार ९ सय ५४ पीपीएमसम्म भेटिएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS