काठमाडौं, असोज ८ – लगातारको वर्षापछि आएको पहिरोमा पुरिएर स्याङजामा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । वालिङ–१४ तमादीकी माया नेपालीको घर पहिरोले पुरिँदा पाँच जनाको मृत्यु भएको हो ।
बिहीबार बिहान ६ बजे पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको हो । अहिलेसम्म तीन महिला र दुई पुरुषको शव निकालिएको छ । अझै चार जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय, स्याङजाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
प्रवक्ता अधिकारीका अनुसार पहिरोमा पुरिएका एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्धार गरेर उपचारको लागि पोखरा पठाइएको छ ।
पहिरोमा पुरिएर मृत्यु हुनेमा २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली छन् ।
पहिरोमा पुरिएकाको उद्धारका लागि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि सहभागी छन् । निरन्तर पहिरो खसिरहेकाले उद्धारमा समस्या भएको प्रहरी प्रवक्ता अधिकारीले बताए ।
FACEBOOK COMMENTS