असार ३१ — बाढीपहिरोले मंगलबार पनि विभिन्न जिल्लामा थप क्षति गरेको छ । स्याङ्जामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा–४ खहरेमा मंगलबार बिहानको पहिरोमा पुरिएर ६५ वर्षीय इमानसिंह राना, ६० वर्षीय जिमानसिंह थापा र ५० वर्षीय टीकाबहादुर थापाको मृत्यु भएको हो । राना साबिकको बिर्घा गाविसका पूर्वअध्यक्ष हुन् । घटनामा २ जना घाइते भएका छन् । बिग्रिएको खानेपानी पाइप बनाउन मुहानतर्फ गइरहेका बेला माथिबाट खसेको पहिरोले उनीहरूलाई पुरेको थियो ।
रानालाई उद्धार गरी गल्याङ नगर अस्पताल लैजान खोजे पनि सडक अवरुद्ध भएकाले फर्काएर बिर्घा स्वास्थ्य चौकी पुर्याइएको थियो । उपचारका क्रममा रानालाई मृत घोषणा गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले बताए । थापाद्वय भने पुरिएको अवस्थामा मृत भेटिएका हुन् । राानासँगै उद्धार गरिएका हुमनाथ पाण्डे र वीरबहादुर रानालाई उपचारका लागि पाल्पा मिसन अस्पताल लगिएको छ । डीएसपी अधिकारीका अनुसार पहिरोमा बेपत्ता प्रेमचन्द्र पाण्डेको खोजी भइरहेको छ ।
पहिरो ठूलो भएकाले पन्छाउन डोजर, थप सुरक्षाकर्मीसहित उद्धार सामग्री पठाएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी, सेना र सशस्त्र प्रहरीको टोली खटिएको छ । बीचमा खहरेखोला रहेकाले वरिपरि पनि पहिरोको उच्च जोखिम रहेको छ ।
FACEBOOK COMMENTS