काठमाडौं, पुस १९ – न्यूरोड गेटदेखि संकटादेवी जाने बाटोको छाता हटाउन थालिएको छ। ‘अम्रेला स्ट्रिट’ नामले पछिल्लो समय नाम कमाएको उक्त बाटोमा भीड धेरै भएपछि छाता हटाउन लागिएको संकटा क्लबका सचिव आशिष मान श्रेष्ठले बताए।
‘हामी बन्द गर्दैछौँ, हामीले जे सोचेर गरेको त्यो भन्दा धेरै क्रउड बढ्यो। यो गाडि हिड्ने बाटोमा गाडि हिड्न पाएन झन् समस्या भयो,’ सचिव श्रेष्ठले भने, ‘सबै मिलेर हालेका थियौँ अब पछि केही गर्ने सल्लाहमा निकाल्दै छौँ।’
श्रेष्ठले अब अलि व्यवस्थित रुपमा नयाँ वर्षको लागि छाता हाल्ने योजना भएको बताए। निकालिएको छातालाई प्याकिङ गरेर भण्डारमा राख्ने योजना क्लबले बनाएको छ।
श्रेष्ठका अनुसार सुन्धारा पछाडिको बाटो बन्दै गरेकोले पनि यो बाटोमा गाडि गुडाउन अनिवार्य छ। श्रेष्ठले यो प्रयासले पछिको लागि नयाँ अनुभव भएको र नयाँ वर्षको लागि नयाँ तरिकाले काम गर्ने बताए।
कोरोना महामारीपछि बजार खुल्दा मानिसको चहलपहल कम भयो, केही आकर्षणको काम गर्ने भन्दै क्लबले व्यापारीसँग सल्लाह गरेर झण्डै ४ लाखको लगानीमा बाटो माथि छाता राखेको थियो।
FACEBOOK COMMENTS